मुख्यमन्त्रीले पनि सुधार्न सकेनन् वीरगंजका क्यासिनो

प्रस, वीरगंज, ६ चैत/
मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले पनि वीरगंजमा सञ्चालित क्यासिनोहरूमा नेपाली प्रवेशलाई रोक्न सकेनन् ।

उनले वीरगंजमा सञ्चालित दुईवटा क्यासिनोमा गत फागुन ७ गते छापामारी गरेका थिए । एउटामा नेपाली नागरिक फेला परेनन् तर अर्काेमा एकजना नेपाली नागरिक फेला परेका थिए । नेपाली नागरिक फेला परेको क्यासिनोविरुद्ध के कारबाही भयो सो सार्वजनिक गरिएन ।

पछिल्लो समयमा मुख्यमन्त्री सिंहले प्रदेशका अस्पतालहरूमा ल्याएको सुधारपछि यहाँ सञ्चालित क्यासिनोमा पनि सुधार गर्लान् भन्ने आशा गरिएको थियो । तर फागुन ७ पछि क्यासिनोविरुद्धको अभियानमा मुख्यमन्त्रीको संलग्नता देखिएको छैन । पर्सा र बारामा गरी अहिले पाँचवटा क्यासिनो सञ्चालनमा छन् ।

नेपालमा सञ्चालित क्यासिनोहरूमा नेपालीहरूलाई प्रवेशमा रोक छ तर बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको पाँचतारे होटल इच्छामा सञ्चालित स्माइल कलेक्शन प्रालि, पर्सा जिल्लाको वीरगंज महानगरमा रहेका क्लार्क रिसोर्ट, लड्र्स दियालोको किङ्स कलेक्शन प्रFलि, सुरज होटलको एक इन्टरनेशनल र होटल भिस्वामा रहेको सिएमजी क्लब क्यासिनोमा जुवा खेल्ने अधिकांश नेपाली रहने गरेको कसैबाट लुकेको छैन ।

भर्खरैको कुरा हो यी क्यासिनोहरूले त्यहाँ नियमित जुवा खेल्ने नेपालीहरूलाई फागु पूर्णिमा मदिरा उपहार दिएका छन् । यसबाट पनि क्यासिनोहरूमा नेपालीहरूको सहभागिता पुष्टि हुन्छ । एकजना खेलाडीले क्यासिनोबाट मदिरा उपहार आएको बताए । उनले आफूले हालका दिनमा क्यासिनो जान छाडेकोले पुनः निम्तो दिने गरी फागुमा मदिराको बोतल उपहार दिएको हुन सक्ने बताए । क्यासिनोले फागुमा धेरै नेपाली खेलाडीलाई आकर्षित पार्न मदिरा उपहार पठाएका छन् ।

नेपालीलाई प्रवेश निषेध रहेका क्यासिनोहरूमा भारतीयलगायत विदेशीहरूले पहिचानपत्रसहित प्रवेश गर्न पाउने व्यवस्था छ । नेपाली वर्जित भएपनि क्यासिनो चलाउन नेपालीहरूलाई खुल्मखुल्ला प्रवेश दिने गरिएको छ । अहिले पर्सा र बाराका पाँचवटै क्यासिनोहरूमा ८० प्रतिशतभन्दा बढी ग्राहक नेपाली हुने गरेको स्रोतको दाबी छ । पर्सा र बाराका क्यासिनोहरूमा नेपालीहरूको निर्बाध प्रवेश प्रहरी प्रशासनलाई पनि थाहा छ ।

यस अघिका पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले पत्रकार सम्मेलनमा क्यासिनोमा सुधार गरिने, नेपाली प्रवेशमा पूर्ण रोक लगाइने उद्घोष गरेका थिए । तर सोही दिन राति होटल भिस्वाको सिएमजी क्लब क्यासिनोमा पर्सा प्रहरीलाई त्यहाँका बाउन्सरहरूले प्रवेश गर्न दिएनन् । यसको प्रतिशोधमा तत्कालीन समयमा क्यासिनोका चारजनालाई पक्राउ गरी मुद्दा चलाइयो तर त्यसपछि क्यासिनोमाथि एकपटक पनि प्रहरी कारबाही भएन । यस कारणले पनि अहिले पर्सा प्रहरीमाथि क्यासिनोको मुद्दामा आम मानिसहरूले विश्वास गर्न सकेका छैनन् र मिलेमतोको आरोप लाग्दै आएको छ ।

प्रहरीलाई समेत प्रवेश गर्न नदिने गरी क्यासिनोहरू सञ्चालनमा छन् भने त्यसका सञ्चालकहरू कति शक्तिशाली छन् भन्नेबारे उल्लेख गर्नुपरेन । क्यासिनोहरूमा जुवा खेली धेरै नेपाली घरबारविहीन भएका छन् ।

लाखौं, करोडौं रुपैयाँ हारेर थुप्रै नेपाली बिल्लबाठ भएका छन् । कतिपयको घरबास उठेको छ भने कतिपयले व्यापारबाट हात धुनुपरेको छ भने कतिपय ऋणी बनेका छन् भने, अनि यसैको शोकमा केहीले आत्महत्या पनि गरेका छन् । पर्सा प्रहरीमा क्यासिनोबारेमा लिखित उजूरी नपरे पनि मौखिक उजूरीको कमी भने छैन ।

नेपालीलाई गैरकानूनीरूपमा प्रवेश गराउँदै आएका क्यासिनोहरूलाई मुख्यमन्त्री सिंहले एक महीना अघि छापामारी गरेपछि अहिले चुप बसेका छन् । अस्पतालको बेथिति सुधार गर्न महीना बढी समय दिंदै आएका उनको कदमको सर्वत्र प्रशंसा भइरहेको बेला वीरगंजमा एक महीना अघि एक दिने क्यासिनोविरुद्धको अभियान पछि चुप बसेकामा आलोचना भइरहेको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्