प्रस, वीरगंज, ६ चैत/
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पस र वीरगंज नर्सिङ क्याम्पसमा हिजो सम्पन्न भएपनि ठाराब क्याम्पसमा बुधवार दिउँसोदेखि मतगणना शुरू भएको छ भने नर्सिङ क्याम्पसमा हिजो राति ८ बजेदेखि शुरू भएको मतगणना विवादका कारण स्थगित भएको छ ।
वीरगंज नर्सिङ क्याम्पसकी निर्वाचन अधिकृत अञ्जुकुमारी महतोले आज विज्ञप्ति जारी गरी विद्यार्थी पक्षबीच सहमति भएको खण्डमा मतगणना सुचारु गर्नेगरी हाललाई मतगणना स्थगित भएको जानकारी गराएकी छन् ।
उनले हिजो तोकिएको समयमा प्रत्यक्ष र समानुपातितर्फको निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तपूर्ण वातावरणमा सम्पन्न भएको, सरोकारवाला विद्यार्थी सङ्गठनहरू र निर्वाचन समितिले मतपेटिकाको जाँच पडताल गरेर सिलको पुष्टि गरेका र त्यसपछि विद्यार्थी प्रतिनिधिहरूसँग आठ बुँदे मतगणना आचारसंहिता तयार गरी मतगणना शुरू गरिएकामा क्याम्पसबाहिरका विद्यार्थीहरूबाट विरोध भएको र उनीहरूको सहमतिमा पछि पुनः मतगणना सुचारु गरिएकामा चिह्न लगाउने विषयमा विवाद भएको र मतगणना पुनः स्थगित गरिएको उल्लेख छ ।
मतगणना सुचारु गराउने विषयमा आज सर्वपक्षीय बैठकबाट पनि सहमति नभएको कारण विद्यार्थीहरूबीच मतगणना गर्ने विषयमा सहमति भएपछि मतगणना शुरू गर्नेगरी स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । यो क्याम्पसमा हिजो राति ८ बजे मतगणना शुरू भएको थियो र २७३ मतमध्ये खसेका २७२ मतमा २१ मत गणना गर्न बाँकी रहँदा विवाद भएर मतगणना दुईपटक स्थगित गरिएको थियो । पछिल्लोपटक आज बिहान साढे तीन बजे गणना स्थगित भएको र त्यसपछि दिनभरि सहमति बन्न नसक्दा स्थगित गरिएको हो ।
यता ठाराब क्याम्पसमा भने हिजो साँझ ६ बजे मतदान सकिएपछि राति १० बजेदेखि मतगणना गर्ने कार्यक्रम तोकिएकोमा रातभरि सहमति बन्न सकेन । त्यसपछि आज दिनभरिको छलफलबाट सहमति भएपछि दिउँसो ४ बजेदेखि मतगणना शुरू भएको छ । १० हजार ७२९ मतदाता रहेको यो क्याम्पसमा चार हजार ३०७ मत मात्र खसेको थियो । ठाराब क्याम्पसको मतगणना ढिला गरी शुरू भएकोले निरन्तर गणना भएमा भोलि बिहीवार साँझसम्म मतपरिणाम आउन सक्ने अनुमान गरिएको छ ।