नगरप्रमुख साहको वडामा विरोधसभा

प्रस, रौतहट, ६ चैत/
गौर राइस मिलको जग्गा गौर नगरपालिकाका जनप्रतिनिधिहरूले बिक्री गर्न लागेको विरोधमा बुधवार गौर नगरपालिकाका–१ मा विरोधसभा गरिएको छ ।

गौर नगरपालिकाका विभिन्न वडाहरूमा जनजागरण अभियान सञ्चालन गर्दै आएको गौर राइस मिल बचाउ सङ्घर्ष समितिले आन्दोलन शुरू गरेको आज नवौं दिन वडा नं १ को रामजानकी धर्मशालामा विरोधसभा गरेको थियो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं पूर्वनगरप्रमुख अजयकुमार गुप्ताले राइस मिलको जग्गा बिक्री गर्न हुने कि नहुने विषयमा गौरवासीसँग जनमत सङ्ग्रह गराउन माग गरे ।

उनले गौरवासीले मिलको जग्गा बिक्री गर्ने पक्षमा मत दिए आफूले राजनीतिबाट सन्न्यास लिने घोषणा गरे । यसैगरी, उनले बिक्रीको विपक्षमा जनमत आएको खण्डमा नगरप्रमुख शम्भु साहले राजनीतिबाट राजीनामा गर्नुपर्ने बताए । आज गरिएको विरोधसभा नगरप्रमुख साहको निवास रहेको वडा हो । उनले राइस मिलको जग्गा बिक्री गर्न लागेका माथि छानबीन गरी कारबाई गर्न प्रदेश र सङ्घ सरकारसँग माग गरे ।

कार्यक्रममा पूर्वउपप्रमुख किरण ठाकुर, नेपाली काङ्ग्रेसका प्रतिनिधि मोहन यादव, पूर्ववडाध्यक्षहरू श्यामसुन्दर पटेल, राकेश झा, मोहन सिंह, वडाध्यक्ष जनार्दन साह, स्थानीय समाजसेवी भूषण सिंहलगायतका वक्ताहरूले राइस मिलको जग्गा कुनै पनि हालतमा बिक्री गर्न नदिने बताएका थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्