नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार ओरालो लागेको छ । अघिल्लो साता केही सुधार देखिए पनि पुनः गिरावट जारी रहनु गम्भीर चिन्ताको विषय हो । शेयर बजारमा निरन्तर उतारचढाव सामान्य मानिए पनि पछिल्लो समय देखिएको गिरावटले नेपालका लगानीकर्ता, बैंकिङ, बीमा तथा समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने देखिन्छ । नेप्से ओरालो लाग्नुका विभिन्न कारणहरू छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाएका छन् । महँगो कर्जाका कारण उद्योगी, व्यवसायी र शेयर लगानीकर्ताहरूले पूँजी बजारमा लगानी घटाएका छन् । तरलता अभावका कारण बैंकहरूबाट नयाँ कर्जा प्रवाह हुन सकेको छैन, जसले बजारमा नकारात्मक प्रभाव पारेको छ । त्यसैगरी, हालै बजारमा आएका प्राथमिक शेयर (आइपिओ)ले पनि बजारमा लगानीकर्ताको चाप घटाएको छ । नयाँ निष्कासनहरूमा आकर्षण बढ्दा बजारमा बिक्री चाप बढ्नु र परिसूचक ओरालो लाग्नु स्वाभाविक हो । शेयर बजार मनोवैज्ञानिक कारणले पनि धेरै प्रभावित हुने गर्छ । लगानीकर्ताहरू बजार गिरावटको अवस्थामा झन् बढी शेयर बेच्ने प्रवृत्तिमा जाने हुँदा यसले बजारलाई झनै तल धकेल्छ । पछिल्लो समय सरकारको पूँजी बजारप्रति उदासीनता देखिएपछि लगानीकर्ताहरू अनिश्चिततामा परेका छन् ।
सरकारी नीति अस्पष्टता र नियामक निकायको प्रभावहीनताले नेप्से ओरालोलाई बल पुगेको छ । सरकार तथा नेपाल धितोपत्र बोर्डले पूँजी बजार सुधारका लागि प्रभावकारी नीति ल्याउन सकेको छैन । विशेषगरी बजार सुधारका लागि ल्याइएका नीति कार्यान्वयन गर्न नसक्दा समस्या जटिल बन्दै गएको छ । हाम्रो मुलुकको नेप्से परिसूचक तल झर्नुमा विश्व अर्थतन्त्र र बाह्य असर पनि छ । विश्व बजारमा देखिएको मन्दी, अमेरिकी अर्थतन्त्रको अस्थिरता तथा भारतको सेन्सेक्स र निफ्टीको उतारचढावले पनि नेपालका लगानीकर्तामा मनोवैज्ञानिक असर पार्ने गरेको छ । बाह्य अर्थतन्त्र कमजोर हुँदा विदेशी लगानी तथा व्यापार घाटा बढ्ने भएकाले यसको असर पूँजी बजारमा प्रत्यक्षरूपमा पर्ने गर्छ । नेप्से गिरावटले मुलुकको अर्थतन्त्रमा महŒवपूर्ण असर पर्छ । जसले बैंक तथा वित्तीय संस्थाहरूमा दबाब सृजना हुन्छ । नेप्से गिरावटका कारण बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितोमा दिएको कर्जा असुलीमा जोखिम बढ्छ । निरन्तरको गिरावटले नेपालमा शेयर बजारप्रति आम लगानीकर्ताको मनोबल कमजोर बनाउँछ । लामो समयसम्म बजार गिरावटमा रहँदा नयाँ लगानीकर्ताहरू शेयर बजारबाट टाढिने सम्भावना उच्च हुन्छ । यसले घरजग्गा, व्यापार, निर्माण तथा अन्य क्षेत्रमा लगानी घट्छ, जसले राजस्व सङ्कलनमा प्रत्यक्ष असर पार्छ । सरकारको मुख्य राजस्व स्रोतमध्ये शेयर कारोबार पनि एक हो, तर अहिलेको अवस्थाले सरकारलाई नै घाटा पु¥याइरहेको छ ।
नेपाल राष्ट्र बैंकले बैंकहरूलाई तरलता व्यवस्थापन सहज बनाउन नीतिगत सुधार गर्नुपर्छ । ब्याजदर सन्तुलित बनाउनुका साथै कर्जा प्रवाह बढाउने नीति ल्याउन आवश्यक छ । नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्जले बजार सुधारका लागि तत्काल स्पष्ट रणनीति ल्याउनुपर्छ । लगानीकर्ताको विश्वास बढाउने किसिमका नीति ल्याएर बजारलाई स्थिरता दिनुपर्छ । दीर्घकालीन सुधारका लागि नियामक निकायहरू, अर्थ मन्त्रालय तथा निजी क्षेत्रसँगको सहकार्यमा ठोस योजना निर्माण गर्नुका साथै लगानीकर्ता सचेतना नीति अपनाउनु जरुरी छ ।