सिरियामा नरसंहार

सिरियामा पछिल्ला केही दिनदेखि लटाकिया र टार्टस क्षेत्रमा भएका झडपहरूमा एक हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । खासगरी, बसर अल–असद समर्थक र सुरक्षाकर्मीबीचको हिंसात्मक सङ्घर्षले देशलाई पुनः गृहयुद्धको अवस्थामा धकेलेको छ । पछिल्लो दशकमा सिरियामा भएको सबैभन्दा ठूलो नरसंहार हो । सिरिया सन् २०११ यता लगातार हिंसात्मक द्वन्द्वमा फसेको छ । यो पछिल्लो हिंसा पनि पुरानै राजनीतिक अस्थिरताको निरन्तरता हो । असद सत्ताच्युत भएपछि विद्रोेही समूह हयात तहरीर अल–शामले सरकार कब्जा गरेपछि परिस्थिति थप जटिल बनेको छ । यो हिंसाभित्र सिरियाको आन्तरिक कारण मात्र नभई अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको पनि खेल छ । सिरिया लामो समयदेखि अस्थिरताको चपेटामा छ । सन् १९८२ मा ‘हामा नरसंहार’ भएको थियो । बशर अल–असदका पिता हाफेज अल–असदको शासनकालमा मुस्लिम ब्रदरहुडको विद्रोह दमन गर्न सिरियाली सेनाले हामा शहरमा गरेको कारबाहीमा करीब २० हजार मानिस मारिएका थिए । अरब स्प्रिड्ढो प्रभावले सिरियामा असन्तोष चुलिंदा सन् २०११ मा सरकारविरुद्ध प्रदर्शनहरू भए । त्यसपछि गृहयुद्ध शुरू भयो, जसमा हालसम्म पाँच लाखभन्दा बढी मानिस मारिएका छन् ।

गृहयुद्धमा असद समर्थक सेना, विद्रोही लडाकू, अमेरिकी नेतृत्वको गठबन्धन, रसिया, इरान, हिजबुल्लाह, टर्की, इस्लामिक स्टेटलगायतका पक्षहरूको संलग्नता रह्यो । अहिलेको हिंसा सिरियाको पुरानो समस्याको निरन्तरता हो । सिरियाको युद्धमा बाह्य मुलुकहरूको पनि चासो र भूमिका छ । बाहिरी शक्तिहरू आफ्ना स्वार्थ अनुसार हस्तक्षेप गरिरहेका छन् । रसिया असद सरकारको पुरानो समर्थक हो । सिरियामा रसियाको सैन्य अड्डासमेत छ । सन् २०२२ मा युक्रेन युद्धतर्फ ध्यान केन्द्रित गर्दा रसियाको प्रभाव अहिले केही कमजोर छ । अर्को मुलुक इरान शिया समुदायसंँग सम्बन्धित छ । उसले असदलाई समर्थन गर्छ । उसले हिजबुल्लाहमार्फत असदलाई सैन्य सहयोग दिएको थियो । यसको ठीकविपरीत संयुक्त राज्य अमेरिका असद सरकारको विरोधी हो । अमेरिकाले कुर्दिश समूहलाई समर्थन गरेर सिरियामा प्रभाव जमाउने प्रयास गरिरहेको छ । त्यसैगरि टर्कीले सिरियामा आफ्नो प्रभाव कायम राख्न विद्रोही समूहलाई समर्थन गर्दै आएको छ । उसले कुर्दिश विद्रोहीलाई कमजोर पार्न चाहेको छ । इजरायलको आफ्नै स्वार्थ छ । इरानको प्रभाव कम गर्ने इजरायलको चाहना छ । त्यसैले उसले सिरियाली भूभागमा समयसमयमा हवाई आक्रमण गर्दै आएको छ ।

सिरियामा नेपालीहरू सीमित मात्रामा छन् । मुख्यतः श्रमिकका रूपमा काम गर्न गएका नेपालीहरू छन् । सन् २०११ को गृहयुद्धपछि नेपाल सरकारले सिरियालाई जोखिमयुक्त देश भनेर नेपालीहरूको श्रमगमनमा रोक लगाएको थियो । तर वैदेशिक रोजगारका क्रममा कतिपय नेपाली अवैधरूपमा सिरिया पुगेका छन् । सिरियामा कार्यरत नेपालीहरूको सङ्ख्या यकीन छैन, तर करीब १५०–२०० नेपाली रहेका अनुमान गरिन्छ । पछिल्लो हिंसाको सन्दर्भमा नेपाल सरकारले त्यहाँ रहेका नेपालीहरूको सुरक्षा अवस्थाबारे चासो देखाउनु जरुरी छ । वैधानिक वा अवैधानिक जुनसुकै माध्यमबाट गएको भएपनि त्यहाँ रहेका नेपालीलाई उद्धार गर्नु नेपाल सरकारको दायित्व हो । सङ्कटग्रस्त क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सार्ने कूटनीतिक पहल आवश्यक छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्