डिएभी र सेस्मीमा विज्ञान प्रदर्शनी

प्रस, वीरगंज, २५ फागुन/
डिएभी स्कूलका विद्यार्थीहरूले विज्ञानसम्बन्धी हस्तकला प्रदर्शनी गरेका छन् । प्रदर्शनीको प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले उद्घाटन गरेका थिए । उनले विद्यार्थीहरूले सिकेका सीपलाई प्रदर्शनीको माध्यमबाट विद्यालयले जानकारी गराएर हौंस्याएको बताए । उनले प्रदर्शनीको आयोजना गरेर विद्यार्थीहरूमा थप ऊर्जा बढेको बताए । विद्यालयका प्रधानाध्यापक राकेश मिश्रले विद्यार्थीहरूलाई वैज्ञानिक सोच, नवीनता, र अनुसन्धानमा अभिप्रेरित गर्दै व्यावहारिक शिक्षाको अवसर प्रदान गर्नु प्रदर्शनी आयोजनाको मुख्य उद्देश्य रहेको बताए ।

यसैगरी, सेस्मी स्कूलले विज्ञान प्रदर्शनी र फूड फेस्टिभल आयोजना गरेको छ । कक्षा ४–८ मा अध्ययनरत विद्यार्थीहरूले विज्ञानसम्बन्धी विभिन्न कलात्मक प्रस्तुति देखाएका थिए । उनीहरूले तराई–मधेसमा पकाइने विभिन्न परिकारहरू बनाइ प्रदर्शनीमा आएका अभिभावकहरूलाई बिक्री गरेका थिए ।

विद्यालयका निर्देशक मनोज यादवले विद्यार्थीहरूको वैज्ञानिक सोच र रचनात्मक क्षमता बढाउनु विज्ञान प्रदर्शनीको उद्देश्य रहेको बताए । विद्यार्थीहरूले विज्ञानका विभिन्न प्रयोग, मोडेल र आविष्कार प्रस्तुत गरेका थिए । यसले विद्यार्थीहरूको वैज्ञानिक ज्ञान र प्रतिभालाई उजागर गरेको उनले बताए । उनले तराई–मधेसका परम्परागत खानपान संस्कृतिलाई प्रदर्शन गरिएको पनि बताए ।

खाजा महोत्सवमा विद्यार्थीहरूले अभिभावकहरूका लागि तराई–मधेसका परम्परागत खानपान माछा, पीठा, चनाभुजा, सलाद, खाजा, पुरी, चटनीलगायतका व्यञ्जनहरू बनाएर बिक्री गरेका थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्