प्रस, वीरगंज, २४ फागुन/
राष्ट्रिय प्रजातन्त्र पार्र्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई निकास नदिने र विकास पनि सम्भव नभएको बताएका छन् ।
उनले यसै विषयलाई मनन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते सन्देशमार्फत जनताले आवश्यक ठाने आफू शासनसत्ता सम्हाल्न तयार रहेको अभिव्यक्ति दिएको बताए । उनले अहिलेको राजनीतिक व्यवस्थाले मुलुकलाई निकास दिन नसकेको कारण राजसंस्था पुनस्र्थापनाको विकल्प नदेखिएको बताए ।
उनले पूर्वराजाको पछिल्लो अभिव्यक्तिले राप्रपा देशव्यापी आन्दोलनको तयारीमा जुटेको बताए । उनले अहिले देशभर राजतन्त्रको पक्षमा लहर देखिएको बताए । अध्यक्ष लिङ्देनले पूर्वराजाको अभिव्यक्तिपछि शुरू भएको राजतन्त्र पुनस्र्थापनाको आन्दोलनबाट राजनीतिक दलका नेताहरू अत्तालिएका र राजालाई दल खोलेर चुनाव लड्न चुनौती दिन थालेको बताए । उनले भने, “राजसंस्था राजनीतिभन्दा माथि रहने संस्था हो । राजनीतिक दलका लागि चुनाव लड्न आफूहरूको पार्टी नै पर्याप्त भएको बताए ।
उनले राजाले आफ्नो शासनकालमा समग्र देशको विकासका पक्षमा काम गरेको दाबी गर्दै मधेसको जनतालाई रोजगारको लागि स्थापना गरिएका वीरगंज चिनी कारखाना, कृषि औजार कारखाना र जनकपुर चुरोट कारखाना दलका नेताहरूले नितान्त आफ्नो स्वार्थका लागि बिक्री गरेको बताए ।
उनले नेपालका उद्योगहरू बिक्री गर्ने, सञ्चालन गर्न नसकेर बन्द गराउने अनि वैदेशिक रोजगारमा जान युवाहरूलाई बाध्य पार्ने राजनीतिक दलहरूका नेताका कारण अहिले देशमा बेराजगारी बढेर युवाहरू विदेशिनुपरेको बताए । स्वदेशमा उद्योगधन्दा सञ्चालन गर्ने वातावरण निर्माणतर्फ दलका नेताहरूको सोच नै नदेखिएको र वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणको आधारमा टिकिराख्ने सोचका कारण देशको अर्थव्यवस्था लथालिङ्ग भएको बताए ।
अहिले देश बर्बाद भएको छ र यथावस्थामा राजालाई शासनसत्ता सुम्पिनुको विकल्प नरहेको उनले बताए । उनले देशले सङ्घीयताको भार थेग्न नसकेको र यसको औचित्य पनि नदेखिएको भन्दै आम नागरिकलाई शिक्षा, स्वास्थ्य निश्शुल्क गर्ने अभियान राप्रपाको रहेको बताए । उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद् पूर्णसमानुपातिक गरेर खर्च कम गर्नु उत्तम उपाय रहेको बताए ।
उनले २०७२ सालको संविधान खारेज गरी २०४७ सालको संविधान लागू हुनुपर्ने र राप्रपा अहिले यही सन्देशसहित नेपाली जनताको घरदैलोमा पुगिरहेको बताए ।
वीरगंजको बिपी उद्यानमा आयोजित आमसभामा राप्रपाका नेताहरू धवल शम्शेर जबरा, विक्रम पाण्डे, दीपक सिंह, वीणा जयसवाललगायतले मन्तव्य व्यक्त गर्दै राजतन्त्र पुनर्बहाली, सनातन हिन्दू राज्य पुनस्र्थापना, प्रदेश संरचनाको खारेजीको माग गरेका थिए ।
यस अघि राप्रपा पर्सा र बाराको आयोजनामा सिमरा विमानस्थलबाट राप्रपाका अध्यक्ष लिङ्देनलगायतका नेताहरूलाई स्वागतका लागि ठूलो सङ्ख्यामा कार्यकर्ताहरू पुगेका थिए । उनीहरूले राजसंस्था पुनस्र्थापना, सङ्घीयताको खारेजी, हिन्दू राष्ट्र बनाउन माग गर्दै नाराबाजी गरेका थिए ।