प्रस, वीरगंज, २४ फागुन/
११५औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा वीरगंज जेसीजले शनिवार चारजना महिलालाई सम्मानित गरेको छ । वीरगंज पब्लिक कलेजमा आयोजित कार्यक्रममा वीरगंज जेसीजकी संस्थापक उषा शाह, नेपाल रेडक्रस सोसाइटी पर्साकी उपसभापति मधु राणा, महिला अधिकारकर्मी श्रीला सरकार र प्रहरी जवान कमलाकुमारी तामाङलाई सम्मानित गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रजिअ गणेश अर्यालले महिलाहरूलाई सम्मानित गर्दै महिला हिंसाविरुद्ध घरबाटै अभियान चलाउनुपर्नेमा जोड दिए । उनले महिला हिंसा र विभेद गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्ने आह्वान पनि गरे ।
वीरगंज जेसीजका अध्यक्ष सरोज चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी उपरीक्षक गौतम मिश्र, वीउवासङ्घका पूर्वअध्यक्ष गोपाल केडिया, सिमरा जेसीजका अध्यक्ष द्वारिका पौडेल, मानवसेवा आश्रम वीरगंजका देवेश मानवसेवालगायतको सहभागिता थियो ।
यस अघि हिजो दिवसको पूर्वसन्ध्यामा ¥याली निकालिएको थियो । ‘सबै महिला तथा बालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’ नारासहित घण्टाघरबाट निकालिएको ¥याली नगरपरिक्रमा गरेर पुनः सोही स्थानमा कोणसभा गरी सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्सा, नारायणी अस्पताल, ओसिएमसी पर्सा, माइती नेपाल, आफन्त नेपाल, आवर संसार, दलित महिला सङ्घ, सानो पाइला, सहयात्री समाज, आमा नेपाल फाउन्डेशनलगायतको सहभागिता थियो ।
वीरगंज महानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा वीरगंजको घण्टाघरमा आयोजित कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जुनसुकै स्थानमा महिला हिंसा गर्ने व्यक्तिलाई कडा कारबाही गरिने बताए । उनले पर्सा प्रहरीले एक महीनाभित्र महिला हिंसा गर्ने चारजना व्यक्तिलाई पक्राउ गरी कारबाही गरेको जानकारी गराए । उनले समाजमा महिला हिंसा गर्नेलाई कारबाहीको दायरामा ल्याउन नागरिकले पनि सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा एनजिओसिसी पर्साका अध्यक्ष इब्राहिम देवान, वीरगंज महानगरपालिकाको महिला शाखाकी अधिकृत रञ्जना पण्डितलगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा वडासदस्य सङ्गीता दास, दलित महिला सङ्घ पर्साकी अध्यक्ष नीला राम, सानो पाइलाकी कार्यक्रम संयोजक शैलेश्वरी सिंहलगायतको सहभागिता थियो ।
प्रस, सिम्रौनगढ/
अन्तर्राष्ट्रिय महिला दिवस बाराको सिम्रFैनगढमा पनि मनाइएको छ । दिवसको अवसरमा आज सिम्रौनगढ नपामा ¥याली निकालिएको थियो । नगरपालिका कार्यालयनजीकबाट निकालिएको ¥याली नगर क्षेत्र परिक्रमा गरेर बानरगाक्षीमा जनचेतनामूलक सडक नाटक र कोणसभा गरी समापन भएको थियो । युएनओपिसीको आर्थिक सहयोगमा सिम्रौनगढ नपाले आयोजना गरेको कार्यक्रममा स्थानीय सङ्घसंस्थाका प्रतिनिधि, कर्मचारीलगायत स्थानीयको सहभागिता थियो । कार्यक्रममा दाइजो र महिला हिंसाबारेमा जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको थियो ।
प्रस, पोखरिया/
अन्तर्राष्ट्रिय महिला दिवसमा पोखरिया नगरपालिका कार्यालयले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख प्रद्युम्न चौहानले देश सङ्घीय गणतन्त्रमा गएपछि महिलाहरूको अधिकार अझ बढी सुनिश्चित भएको बताए । उनले संविधानमा नै महिलाको सहभागिता ३३ प्रतिशत सुनिश्चित भएकोले राज्यका सबैजसो अङ्गमा अहिले महिला सहभागिता बढ्दै गएको बताए ।
उनले अहिले संसारभरका महिलाहरू अग्रपङ्क्तिमा रहेका र नेपालमा पनि उनीहरूलाई अवसरबाट वञ्चित गर्ने काम नभएको बताए । घरदेखि देश चलाउने क्षमतावान् महिलाहरू अबका दिनमा अवसर प्राप्तिका लागि खुलेर आउन सक्ने र उनीहरूलाई अधिकारबाट वञ्चित पार्न नहुने बताए ।
वडाध्यक्ष लछुमन साह कलवारको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख रूबी ठाकुर, सामाजिक विकास शाखा प्रमुख वाल्मीकि साहलगायतको सहभागिता थियो ।
वक्तृत्वकला प्रतियोगितामा १० जना महिला स्वास्थ्यकर्मी तथा शिक्षिकाहरू सहभागी भएकामा गीता भण्डारी प्रथम, चिन्ता पटेल द्वितीय, रञ्जु देवी तृतीय र महापति देवी सान्त्वना भएकी थिइन् । उनीहरूलाई नगरप्रमुख चौहानले पुरस्कृत गरेका थिए । कार्यक्रमको सहजीकरण नरेन्द्र साहले गरेका थिए ।