प्रस, वीरगंज, २४ फागुन/
वीरगंज समाज सेवाको आयोजनामा शनिवार नारायणी अस्पतालका बिरामी, कुरुवाहरू र असहाय गरीबलाई निश्शुल्क भोजन गराइएको छ ।
समाजले अस्पतालका बिरामी, कुरुवाहरू, गरीब असहायका लागि प्रत्येक शनिवार निश्शुल्क भोजन गराउँदै आएकामा उनीहरूको हौसला बढाउन आज प्रजिअ गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र र सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल पुगेका थिए । उनीहरूले निश्शुल्क भोजन व्यवस्थापनको अनुगमन गर्दै भोजन वितरणमा सघाएका थिए । निस्स्वार्थ भावनाबाट प्रेरित भएर समाजले दीन–दुःखी, गरीब, असहायहरूलाई सातामा एकपटक भएपनि पोषिलो भोजनको व्यवस्था गरेकोमा प्रजिअ अर्यालले खुलेर प्रशंसा गरे । उनले समाजमा यस प्रकारका भावनाले प्रेरित मानिसहरूको सङ्ख्या वृद्धि हुने हो भने कोही गरीब भोको पेट सुत्ने अवस्था नआउने
बताए ।
समाजले विगत ४४ सातादेखि अस्पतालमा सो सेवा प्रदान गर्दै आएको समाजका अध्यक्ष अशोक गुप्ताले बताए । समाजका साथीभाइहरूको सहयोगमा अहिलेसम्म निश्शुल्क भोजनलाई निरन्तरता दिंदै आएको सचिव प्रकाश बाहेतीले बताए । कार्यक्रममा अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहलगायतको सहभागिता थियो ।