प्रस, परवानीपुर, २४ फागुन/
भोलि फागुन २५ गते लुम्बिनी प्रदेशका तीनवटा मैदानमा आयोजना हुने प्रधानमन्त्री क्रिकेट प्रतियोगिताको लागि मधेस प्रदेश टीमको १५ सदस्यीय खेलाडी छनोट भएको छ ।
अनिलकुमार साहको कप्तानीमा चयन भएको टीममा बाराका पवन सर्राफ, कमल गुप्ता, निखिल सिंह रहेका छन् । यसैगरी, मधेस प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सुनील महासेठको जिल्ला सिराहाबाट प्रदीप पासवान, रूपेश सिंह, दीपेश दास, शैलेन्द्र साह गरी चारजना टीममा परेका छन् । धनुषाका मयन यादव, हरिशङ्कर साह, पर्साका रञ्जीत कुमार, रौतहटका सन्नी साह गरी कुल १५ सदस्यीय टोली चयन भएको जनाइएको छ ।
आज फागुन २४ गते मधेस टीमको घोषण भएको हो । टीमको वैकल्पिक खेलाडीमा पर्साका आकिब अन्सारी, सर्लाहीका पप्पु यादव, धनुषाका अखिलेश ठाकुर, रौतहटका मोहन घिमिरे छन् । टीमको प्रशिक्षकमा सुनील साह (महोत्तरी), सहायक प्रशिक्षक शिव तण्डुकार (बारा) र म्यानेजरमा दीपेन्द्र यादवलाई मधेस प्रदेशको छनोट कमिटीले चयन गरेको छ । मधेस प्रदेश टीम भोलि फागुन २५ गते साँझ ७ बजे वीरगंजबाट प्रस्थान गर्ने कार्यक्रम छ । मधेस प्रदेशको पहिलो खेल फागुन २७ गतेदेखि प्रारम्भ हुनेछ । मधेस प्रदेशका आठ जिल्लाका टीमलाई छनोट प्रतियोगिता आयोजना गरी उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई चयन गरिएको हो । छनोट प्रतियोगिताको शुक्रवार सम्पन्न फाइनल खेलमा रौतहटलाई पराजित गर्दै बारा विजेता बनेको थियो ।