बारामा मकैखेती गर्ने किसानको सङ्ख्या बढ्दै

राधेश्याम पटेल, परवानीपुर, २३ फागुन/
बारा जिल्लामा मधेस प्रदेशमैं सबैभन्दा बढी मकैखेती हुन्छ । बारा जिल्लामा बर्सेनि हजारौं बिघा क्षेत्रफलमा मकैखेती गरिन्छ । यस वर्ष चार हजार बिघाभन्दा बढी क्षेत्रफलमा मकैखेती गरिएको बाराका अगुवा किसान वीरेन्द्रप्रसाद यादवले बताए ।

उनले आफूले यस अघि धान, गहुँ, उखु खेती गर्दै आएकामा अहिले मकैखेतीतर्फ आकर्षित भएको बताए । मकैखेती गर्दा अन्य बालीको तुलनामा बढी मुनाफा हुने भएकोले आफूले मकैखेती गरेको किसान यादवले बताए । उनले आफूजस्तै यहाँका अन्य किसानको आकर्षण पछिल्लो समयमा मकैखेतीतर्फ बढेको बताए ।

उनले भने– मेरो १३ बिघा खेत छ, गत वर्ष १२ बिघामा उखु र एक बिघामा मकै लगाएको थिएँ । दाजुभाइ सबैले मकैबाली लगाउन थालेपछि आफूले पनि यसपटक तीन बिघामा मकैखेती गरेको उनले बताए । जीतपुरसिमरा–११ आमाडार बस्ने वर्ष ४७ का किसान यादवले खेतीबारीबाटै बर्सेनि लाखांै रुपैयाँ आर्जन गर्छन् ।

एक कट्ठामा गहुँबाली लगाउँदा अढाई हजार खर्च पर्ने र मकै लगाउँदा करीब चार हजार खर्च लाग्ने तर उत्पादनको दृष्टिकोणबाट गहुँको तुलनामा मकैबालीबाट तेब्बर बढी मुनाफा हुने गरेको उनी बताउँछन् । एक कट्ठामा गहुँ करीब एक क्वीन्टल उत्पादन हुन्छ भने मकै भने चार क्वीन्टलसम्म उत्पादन हुने गरेको उनले बताए ।

गहुँखेती गर्दा जोताइ, बीउ, मलखाद र सिंचाइ गरी खर्च कटाएर पाँच हजार फाइदा हुने तर मकैखेतीबाट सबै खर्च काटेर नौ हजारसम्म मुनाफा हुने गरेको उनी बताउँछन् । बढी मुनाफा हुने भएकोले अहिले जीतपुरसिमरा उपमहानगरका करीब १५ वटा वडामा मकैखेती भइरहेको उनले बताए ।

उनले जिल्लाका १६ वटा पालिकामध्ये सबैभन्दा बढी जीतपुरसिमरा उपमहानगरपालिकामा मकैखेती हुने गरेको जानकारी
गराए । जीतपुरसिमरा उमनपा–५, ८, ११, १२, १३, १४, १५, १९ र २० मा बढी मात्रामा मकैखेती भएको र यीबाहेक पनि अन्य वडामा पनि मकैखेती भएको बताए । उनले यी वडाहरूमा ८५ प्रतिशत किसानले मकैखेती गरेको बताए ।

जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत खैरवा, खेस्रौल, सिसहनिया, आमाडार, पिपरिया, फत्तेपुर, डुमरवाना, पोता, मौलापुर, राजघटा, जोलाही, बेहरीलगायतका टोलहरू अहिले मकैमय भएको उनले बताए । यसैगरी, जिल्लाको सिम्रौनगढ, महागढीमाई, कोल्हवी, निजगढ नपा, फेटा, करैयामाई, बारागढी, आदर्शकोतवाल, सुवर्ण गापाका किसानहरू मकैखेतीमा उत्साहित देखिएको उनले बताए ।

मङ्सिर, पुस, माघमा रोपाइँ गरेर चैत, वैशाख र जेठसम्म मकै भिœयाउने गरेको उनले बताए । स्थानीय बजारमा मकै प्रतिकिलो रु ३२ देखि ४० सम्ममा बिक्री हुने गरेको उनले बताए । मकैको गुणस्तर हेरी प्रतिकिलो ४० सम्म बिक्री हुने गरेको छ । मकैको कारोबार अहिले नगदी भइरहेकोले पनि बाराका किसानहरूको आकर्षण बढेको उनले बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्