प्रस, वीरगंज, २३ फागुन/
नेपाल–भारत खुला सीमा संवाद समूह र कपडा बैंक नेपालको संयुक्त आयोजनामा मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राख्दै हेल्पडेस्क सञ्चालन गरिएको छ ।
प्रत्येक वर्ष आयोजना हुने मिथिला माध्यमिकी परिक्रमा हिन्दू धर्मावलम्बीहरूका लागि गहिरो आध्यात्मिक र सांस्कृतिक महŒव बोकेको छ । परिक्रमाले धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्नुका साथै नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबूत बनाउने काम गर्छ ।
नेपाल–भारत खुला सीमाको कारण यात्रुहरूलाई सहजता मिल्नुका साथै धार्मिक तथा सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्ने अवसर पनि प्रदान गरेको संस्थाका अध्यक्ष डा राजीव झाले बताए । महोत्तरी जिल्लाको पाँच वासमध्ये अन्तिम चरणको कञ्चनवन वासमा हेल्पडेस्क सञ्चालन गरिएको उनले बताए ।
नेपाल–भारत खुला सीमाको फाइदाबारे बोल्दै उपाध्यक्ष शिवशङ्कर साहले नेपाल–भारत खुला सिमानाका कारण धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सहजरूपमा सम्पन्न गर्न सकिने बताए । भारतका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजन तथा साधु–सन्तहरूले विनाझन्झट नेपाल प्रवेश गरी परिक्रमा गर्न पाउने सुविधा पाएको उनले बताए ।
नेपाल–भारतको सांस्कृतिक सम्बन्ध सुदृढ पार्ने धार्मिक परिक्रमा मिथिला माध्यमिकी परिक्रमा नेपाल–भारतबीचको सांस्कृतिक सम्पर्कको प्रतीक मानिन्छ । नेपाल–भारत खुला सीमाका कारण यी धार्मिक यात्राहरू सहज बन्दै गएका छन्, जसले धार्मिक पर्यटकलाई आकर्षित गर्दै नेपालको स्थानीय अर्थतन्त्रलाई समेत बलियो बनाउने काम गरेको कार्यक्रम संयोजक दीपक यादवले बताए । कार्यक्रम सहसंयोजक रुवी झाले हेल्पडेस्कमार्फत यात्रुहरूका लागि स्वास्थ्य जाँच, आवश्यक औषधि वितरण तथा अन्य आवश्यक सामग्रीहरू उपलब्ध गराउने कार्य भइरहेको बताए । यस वर्ष नेपाल–भारत खुला सीमा संवाद समूहले धार्मिक परिक्रमालाई थप व्यवस्थित बनाउन हराएका मानिसहरूको खोजी कार्यका लागि पनि व्यवस्था मिलाएको उनले बताए ।
कार्यक्रममा कृष्णकुमार साह, रूपेश यादव, धनेश्वर ठाकुर, कमला बचाउ अभियानी विक्रम यादव, विपिन ठाकुरलगायतको सहभागिता थियो ।