उपाधि जित्ने दुवै टीम विश्वस्त

प्रस, वीरगंज, २३ फागुन/
वीरगंज गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत शनिवार हुने फाइनल खेलमा उपाधि आफ्नो टीमले जित्नेमा फाइनलमा पुगेका दुवै टीमका क्याप्टेनले दाबी गरेका छन् । शुक्रवार आदर्शनगर रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा फाइनलमा पुग्ने नेपाल पुलिस क्लब र मच्छिन्द्र फूटबल क्लबले प्रतियोगिताको उपाधि आफूले लैजाने बताएका छन् ।

उपाधि जित्नको लागि दुवै टीमका क्याप्टेनले आफूहरू तयार रहेको बताएका छन् । पत्रकार सम्मेलनमा पुलिस क्लबका प्रशिक्षक चेतन घिमिरेले पहिलो वीरगंज गोल्डकप फूटबल प्रतियोगिताको उपाधि आफ्नो टीमले नै उठाएको र दोस्रो पनि पनि उठाउने विश्वास दिलाए ।
प्रशिक्षक घिमिरेले विपक्षी टीममाथि पुलिस टीम सदाझंै हाबी हुने बताए । पुलिस क्लबका क्याप्टेन रामचन्द्र बाजीले उपाधि आफ्नो टीमले जित्ने बताए ।

मच्छिन्द्र फूटबल क्लबका प्रबन्धक शिरीष श्रेष्ठले यस प्रतियोगिताको फाइनलमा पहिलोपटक पुगेकोले उपाधि कप आफ्नो टीमले नै लैजाने बताए ।

मच्छिन्द्र फूटबल क्लबले वीरगंज गोल्डकपको उपाधि जितेमा यस वर्ष लगातार तेस्रो उपाधि जित्नेछ ।

मच्छिन्द्रका क्याप्टेन विशाल श्रेष्ठले प्रतियोगिताको उपाधि आफ्नो टीमले जित्ने गरी खेलाडीहरूको मनोविज्ञान तयार रहेको बताए । उनले आफ्ना खेलाडीहरूले वीरगंजमा उपाधि जितेर स्मरणीय बनाउने बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्