विमलालाई निदाएको जस्तो शान्त भएको देखेर शिवमले सोध्यो ः विमला, संसार के हो ? कस्ता हुन्छन् तिम्रा पति जस्ता नरपिसाचहरू ?
विमला : छाड पिसाच र पतिका कुरा । तिमीसँग भेटेर लाग्यो अतिसय राम्रा पनि हुन्छन ।
शिवम : जीवन के हो ? कसैलाई थाहा छ ?
विमला : एक सपना हो । एक प्रेमको सपना ।
शिवम : कहीं यो सपना अधूरो त रहनेछैन ?
विमला : होइन डाक्टर, मेरो सपना त पूरा भइसकेको छ । हामी अर्को जन्ममा पनि मिल्नेछौं ।
शिवम : यस्तो भन्नुहुँदैन विमला । अहिले त हाम्रो यही जीवन सम्पूर्ण बाँकी छ ।”
विमला : एउटा कुरा सोधूँ रिसाउने त छैनौ ?
शिवम : किन के हो त्यस्तो कुरा भन न ?
विमला : डाक्टर, मलाई सधैं लागिरह्यो कि तिमीले कहिले पनि ममाथि पूरा विश्वास गरेनौ । होस्टलकी केटीहरूले कुरा लगाए पनि पछि परिरह्यौ ।
शिवम : होइन विमला, मैले तिमीमाथि कहिले पनि अविश्वास गरिनँ । तर मलाई सधैं लागिरह्यो कि तिमीले केही कुरा लुकाइरहेकी छौं । जसलाई तिमीले अविश्वास भनिरहेकी छौ, त्यो तिम्रो मनभित्र गहिरो पस्ने प्रक्रिया थियो । त्यही प्रक्रियाले तिमीले आफ्नो पतिका सारा कुकर्म जसलाई तिमी वर्षौंसम्म सहेर बसी मलाई बताएर पूरा गरिसकेकी छौ । अब राजबागमा चहलपहल शुरू हुनेछ । तिम्रो इभनिङ ड्युटी छ । फ्रेस पनि हुनुपर्छ । अब जाऔं कि कसो ?
दुवै कलेज फर्के । आज दुवैको लागि सूर्य नयाँ थियो, चन्द्रमा नयाँ थियो । रूखबिरुवा र सृष्टि नै नयाँ थियो । कसैलाई कसैप्रति मनमा क्लेश थिएन । अब दुवैलाई अध्ययन समाप्त हुनुको प्रतीक्षा थियो । शिवमको मेडिकलको समाप्ति वर्ष र विमलाको नर्सिड्ढो त्यो समाप्तिको वर्ष थियो । प्रतीक्षाको वर्ष लम्बिएको लागे पनि समाप्त भएर हिंड्ने बेला पनि आयो । हिंड्ने बेलामा डाक्टर ट्रेनले रवाना भयो । विमला बिदा गर्न गइन् र ट्रेन आँखाबाट ओझेल नहुन्जेल बिदाइको हात हल्लाइरहिन् । मुजफ्फपुरमा आफ्नी दिदीलाई भेटेर डाक्टरको शहरमा आउनु थियो विमलालाई । मोबाइलको जमाना थिएन । डाक्टरले घर पुगेर अहिलेसम्म टेलिफोन जडान गर्न सकेको थिएन । अहिले त जीवन शुरू नै गर्ने बेला थियो । एउटा घर भाडामा लिएर उसले बाहिर केवल डा शिवमको बोर्ड मात्र झुन्ड्याउन सकेको थियो । सात दिनसम्म डाक्टरले विमलाको बाटो हेरिरह्यो । जब ऊ आइनन्, तब उसले विमलाको दिदीलाई टेलिफोन बुथमा गएर फोन ग¥यो । एक मिनेटभित्रै उसको हातबाट टेलिफोनको रिसिभर झ¥यो । संज्ञाशून्य भएर ऊ टेलिफोनको बुथमा नै बेहोश भएजस्तो भएर टूलमा बस्यो । केही बेरमा सम्हालिएर शिवम सीधैं स्टेशनतिर लाग्यो, उदास र किंकर्तव्यविमूढ । फोनमा सुनेको कुरा यस्तो थियो ः विमला त दुई दिन यहाँ बसी र त्यसपछि कुनै डाक्टरको क्लिनिकमा जागीर पाइसकेकी छु भनेर टीकाटालो लगाएर यहाँबाट बसमा हिंडिन् । त्यहीं पुगेर सम्पूर्ण ठेगाना बताउने भनेकी थिइन् । छपवामा यस्तो दुर्घटना भयो कि अब ऊ यस दुनियाँमैं छैन बाबु । लाशको सनाखत गरेर हामीले अन्तिम संस्कारसमेत गरिसक्यौं । दुःखको कुरा, जीवन शुरू नहुँदै ऊ रहिनन् बाबु । तपाईं को बोल्नुभएको ? त्यसपछि रिसिभर हातबाट छुटेर शिवमले जवाफ पनि फर्काउन सकेको थिएन । शिवम ट्रेनमा बसेर सीधैं दरभङ्गाको राजबागको त्यसै शिव मन्दिरमा पुग्यो, जहाँ भित्तामा उसले लेखिदिएको थियो, विमला । अपलक त्यस शब्दलाई ऊ हेरिरह्यो । आँसु झारिरह्यो । अन्तमा त्यही शब्दलाई सुम्सुम्याएर ऊ कुनै कुनामा चुपचाप बसिरह्यो । आज न विमला उसको काखमा थिई । न त ऊ विमलाको काखमा । कस्तो खेल हो यो जीवन र मृत्युको ?
धेरैबेर त्यसै एक्लै बसेपछि उसले फेरि स्टेशनतिर पाइला बढायो । फिर्ती ट्रेनको झ्यालनिर बसेर ऊ उदास बाहिरी संसारलाई हेर्दै घर फर्किरहेको थियो । बाहिरका रूखबिरुवा अनि संसार नाचिरहेको थियो, मानौं समयको चक्का घुमिरहेको थियो । एउटा दृश्य आइरहेको थियो भने, अर्को हराइरहेको थियो । समयको यसै चक्काले विमलालाई विलीन गरेको थियो । घर फर्केर उसले आफ्नो क्लिनिक खोल्यो । डा शिवमको बोर्ड बदलेर अब डा विमलकृष्णको बोर्ड बनाएर झुन्ड्यायो उसले । क्लिनिकभित्र एउटा नर्सले ‘साइलेन्ट प्लिज’ भन्दै आफ्नो ओठलाई औंलाले बन्द गरेकी थिइन् । त्यो सामान्यतः क्लिनिकमा राखिने नर्सको तस्वीर नभई विमलाको नर्सिड्ढो दीक्षान्त समारोहको तस्वीर हो । विमला सिंहको इच्छा थियो, शिवमको क्लिनिकमा नर्स बनेर नै जीवन बिताउने ।