विश्व ब्रह्माण्ड सौर्यमण्डलदेखि ग्यालेक्सीसम्म कसरी के भइरहेछ, अझ ब्ल्याक होलको अवधारणाबारेमा आजका दुनियाँका बौद्धिक समाज अर्थात् खोजीकर्ता अनुसन्धानमा लागेका मानव मसिहाहरूलाई चिन्ता र चिन्तनको विषय बनेको छ । ब्रह्माण्डको लागि सा¥है सानो तर हाम्रोलागि विशाल दुनियाँमा मानवको सृष्टि कसरी भयो भन्ने जिज्ञासाको निराकरण कसरी गर्ने भन्ने हामीमा अथवा स्वच्छ समाजमा छटपटी छ । मानव मात्र होइन, जीव, जीवन र तिनले क्रिडा गर्ने स्थल पृथ्वी नै कसरी बन्यो ? पृथ्वीलाई सुरक्षा गरेको मातापिता मानिएको सूर्य र सौर्यमण्डल के हुन् ? यी सबैका सञ्चालक को हुन् ? सञ्चालकका पनि सञ्चालक अर्थात् अन्तिम सञ्चालक को हुन् ? कसरी सञ्चालित छ, यस्ता अनुत्तरित प्रश्नहरूले मानवको गिद्दी सलबलाइरहेको छ ।
हाम्रो वेद, उपनिषद्, आरण्यक, ब्राह्मण ग्रन्थ आदि पढ्दा यस्तो लाग्छ, हामीले विश्व ब्रह्माण्डको उत्पत्ति, मानवको वर्गत, तर्क, स्वास्थ्यदेखि कृषिलगायत सारा कुरा पत्ता लगाइसकेका छौं । तर व्यवहारमा हामी पछाडि परेका छौं, लोप भएका कुराहरू हाम्रो वशमा छैनन् । सभ्यताको मामलामा मिश्र, युनान, बेबोलियनदेखि हडप्पासम्म हामीलाई उछिनेका थिए भन्नेहरूको कमी छैन । कालक्रममा ती सभ्यताहरू नष्ट भएपछि हाम्रो सभ्यताले विश्वका अरू मुलुकमा सिकाउन जानुपथ्र्यो र हाम्रो एकल घोडा दौड लगाइरहेको हुन्थ्यो । कालान्तरमा हामी अल्छी बन्यौं, चिन्तन कमजोर हुँदै गयो, खोजी कार्य अवरुद्ध भयो र वर्गीय व्यवस्थाको पासोमा हामी अल्झिन पुग्यौं । जातजातिको नाममा अनुशासन पालन गराउने नाममा दण्डित गर्न डन्डा चलाउनेतर्फ मात्र ध्यान दियौं । हामीभन्दा सभ्यतामा पछि परेका पश्चिमाहरू हामीमाथि आक्रामक भएको हामीले चालै पाएनौं । हामीले हामीभित्रका विद्वान् चार्वाकहरूलाई निर्वस्त्र गर्न थाल्यौं । जैन, बुद्ध, बौद्धहरूलाई पन्छ्याएर हामी कमजोर भएको थाहै पाएनौं ।
हामी सर्वसाधारणले यो सृष्टि कसैको खेला हो, अलौकिक शक्तिले हामीलाई खेलाइरहेछन्, यो खेलभित्रका हामी प्यादा हौं, हार्नु–जित्नु, मर्नु–मार्नु, हाँस्नु–रुनु यी सबै उसैको खेला हो, अलौकिक छ उनको सोच भन्ने त लाग्यौं । सतर्क हुन जानेनौं । बरू आफ्नामाथि लगाम कस्न चाहिं छाडेनौं । तर्क थियो, मनलाई जथाभावी यताउति नलग, तिमीले जति चिन्ता गरे पनि केही पाउनेछैनौं । त्यसैले आफ्नैबारेमा सोच, आफ्नै परिवार, आफ्नै गाउँठाउँको बारेमा सोच, यसैमा रमाउ, यसो गरेनौं भने चिन्ताले तिमी बेकामी हुनेछौ, अद्र्धपागल हुनेछौं । अलौकिक शक्तिले दिएको जीवन यसै नगुमाउ । सन्तोषी बन, सन्तोष गर, आफ्नै परम्परामैं रमाउ, सन्तोष नगरेर अन्यत्र गयौ भने जङ्गली जनावरको शिकार हुनेछौ वा डाँकाहरूको डकैतीमा ज्यान गुमाउनेछौ । यस्तैयस्तै उपदेश गरिरह्यौं । हाम्रा धरोहर, मठमन्दिर, विद्यालयहरू नष्ट, भ्रष्ट गरिंदा पनि एक हुन जानेनौं, रमिते बनिरह्यौं । जस्तो परचक्रीको रिसले घरकी बुढी कुट्ने बहादुर जस्तो भयौं ।
आज विश्व मानवजगत्मा एउटा दुर्गति कायम भएको छ । भजनकीर्तन, विश्वास, अविश्वास, अन्धविश्वासका साथै कल्पनाको दुनियाँमा रमाइरहेका पूर्वीय मुलुकमा पश्चिममा सल्बलाएका केही सम्प्रदाय भारत प्रवेश गरेका छन् । र प्रलोभनमा पारी पूर्वेली फुटाएर आफू आफ्नाभित्र प्रवेश गराउन सफल भएका छन् । पहिले गुणात्मकरूपमा थियो भने अहिले सङ्ख्यात्मकरूपमा छन् । त्यो हावा हाम्रो यहाँ पनि जोड लिएको देख्न सकिन्छ । अर्को दुर्गति के देखिन्छ भने एउटा सम्प्रदाय बलियो भएको ठाउँमा अर्को सम्प्रदाय अर्थात् अल्पसङ्ख्यक भएकालाई हेप्ने, पेल्ने, दमन गर्ने गरेको देखिन्छ । जङ्गली बर्बर अवस्थामा भौतिक आक्रमण गर्ने क्रियालाई अब सभ्य तरीकाले गर्ने गरेको देखिन्छ । हिजोको दुनियाँमा बलियो राष्ट्रले कमजोर राष्ट्रलाई गुलाम बनाउने कुरा त इतिहासमा प्रशस्त पढ्न पाइन्छ । तर आजको दुनियाँमा पनि त्यसको अवशेष अझै देख्न सकिन्छ । यस्तो कार्यको विरोधमा संयुक्त राष्ट्रसङ्घ जस्ता संस्थाहरू सक्रिय रहँदा पनि बलियो राष्ट्रले कमजोर राष्ट्र हेप्ने भनेको त सार्वभौम जस्तो हुन गएको छ । अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले त्यत्रो सङ्घर्ष गरेर मेटाएको काला–गोराको भेद अझै कहिलेकाहीं विकराल भएर देखा पर्छ । जातीय घृणा विश्वमैं गैरकानूनी भएपनि हिन्दूजगत्मा अझै शिर उठाउन खोजेको देखिन्छ ।
छिमेकी मुलुक भारतको सिको गर्दै हाम्रो मुलुकमा पनि नयाँनयाँ सम्प्रदायको नामबाट अनेक धर्मधारहरू निस्किरहेका छन् । ओमशान्ति, राधेराधे, कबीरपन्थी, नयाँ कबीरपन्थी, राधास्वामी, रामरहीम जस्ता नामबाट थुप्रै सम्प्रदाय बनेका छन् । मेरा थुप्रै मित्र त्यस्तामा बाँडिएको पनि देखिएको छ । उहाँहरूको निम्ता स्वीकारेर कार्यक्रममा गएको बेलामा शुरूमा मीठामीठा भजन सुनेर आनन्द लिइन्छ । त्यसपछि उनका गुरुहरूको धूँवाधार प्रशंसा सुन्नुपर्दा उदेग लाग्न थाल्छ । यस्ता उस्ता काल्पनिक किचलोबाट मुक्ति पाउन समाजले ग्यालिलियो, न्युटन, अल्बर्ट आइन्स्टाइन, आर्यभट्ट, जोन हप्किन्स जस्ता थुप्रै पृथ्वीपुत्र जन्माउन सके । विश्वमा शान्ति छाउँथ्यो कि ? अन्यथा हामीहरू अझै हजारौं वर्ष कल्पनामैं रमाइरहेका हुनेछौं ।