चीनले यस वर्ष पनि रक्षा बजेट ७.२ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । पछिल्ला दशकहरूमा पनि चीनले सैन्य खर्च बढाउँदै आएको देखिन्छ । जसले संयुक्त राज्य अमेरिका र उसका सहयोगी राष्ट्रहरूलाई थप चनाखो बनाएको छ । चीनले आफ्नो सैन्य खर्चलाई ‘रक्षात्मक’ बताइरहे पनि, क्षेत्रीय र विश्वव्यापी सुरक्षा सन्तुलनलाई यसले असर पार्ने निश्चित छ । सैन्य बजेट वृद्धि चीनको आकस्मिक निर्णय होइन । यो उसको सुनियोजित नीति हो । सैन्य आधुनिकीकरणलाई चीनले प्राथमिकतामा राखेको छ । यसका पछाडि विभिन्न रणनीतिक कारणहरू छन् । पहिलो कारण, अमेरिकासँगको रणनीतिक प्रतिस्पर्धा । चीनले आफूलाई अमेरिका सरहको विश्वशक्ति बनाउन चाहन्छ । अमेरिकी नौसेना र सैन्य प्रभावलाई चुनौती दिन चीनले आफ्नो सैन्य पूर्वाधार विस्तार गर्दै आएको छ । यसै कारण रक्षा खर्च वृद्धिले उसको भूराजनीतिक हैसियतलाई मजबूत बनाउन सघाउँछ । दोस्रो, क्षेत्रीय सुरक्षा चुनौतीहरू । चीनको सैन्य रणनीति छिमेकी मुलुकहरूसँगको विवादहरूमा केन्द्रित छ । ताइवान, दक्षिण चीन सागर र पूर्वी चीन सागरका विषयमा चीनको दाबी बलियो बनाउन रक्षा क्षमताको विस्तार आवश्यक छ । तेस्रो, रक्षा उद्योगको प्रवद्र्धन हो । चीनले घरेलु सैन्य उद्योगलाई प्रवद्र्धन गर्ने नीति लिएको छ । उसले नयाँ प्रविधिहरूमा लगानी गर्दै हतियार निर्माणलाई तीव्र बनाइरहेको छ । यसको लक्ष्य केवल आत्मनिर्भरता मात्र होइन, विश्वको प्रमुख हतियार निर्यातकर्ता बन्ने पनि हो ।
चीनको रक्षा खर्च वृद्धिको पछाडि केही बाध्यात्मक कारणहरू पनि छन् । एकातिर चीनले पछिल्ला दशकमा भौगोलिक विवादहरूमा बढ्दो तनावको सामना गर्नुप¥यो । अमेरिका र उसका सहयोगी मुलुकहरूले ताइवानलाई खुलेर समर्थन गरिरहेका छन्, जसले चीनलाई सैन्यरूपमा अझै मजबूत हुनुपर्ने बाध्यता छ । अर्कोतिर चीनले आधुनिक प्रविधिमा आधारित सैन्य संरचना विकास गर्न चाहन्छ । पुराना युद्ध उपकरणहरू प्रतिस्थापन गर्दै ड्रोन प्रविधि, हाइपरसोनिक मिसाइल, साइबर सुरक्षा र एआई समर्थित युद्ध प्रविधिहरू विकास गर्दैछ । यी क्षेत्रमा अघि बढ्न लगातार बजेट वृद्धि अपरिहार्य छ ।
ठूला तथा शक्तिशाली मुलुकहरूले रक्षा खर्च वृद्धिमा जोड दिनु विश्व सुरक्षाका लागि अवसरभन्दा खतरा बढी देखिन्छ । सैन्य प्रतिस्पर्धाले विश्वलाई थप अस्थिर बनाउन सक्छ । सैन्य खर्च वृद्धिले अन्य मुलुकहरूलाई पनि प्रतिस्पर्धात्मक खर्च बढाउन बाध्य बनाउँछ । चीनले रक्षा बजेट बढाएपछि जापान, भारत, ताइवान र दक्षिण कोरियाले पनि सैन्य बजेट वृद्धिलाई प्रथामिकता दिन्छ । यसले एशियाली क्षेत्रलाई सैन्यकरणतर्फ धकेल्नेछ । अमेरिकाले अझ बढी हस्तक्षेप गर्ने सम्भावना रहन्छ । चीनको रक्षा नीति बलियो बन्दै जाँदा अमेरिका र उसका सहयोगीहरू चीनविरुद्ध सैन्य गठबन्धनहरू बनाउने प्रयास गर्न सक्छन् । यो रणनीतिक ध्रुवीकरण विश्व शान्तिका लागि चुनौती बन्न सक्छ । आर्थिक स्रोतलाई सैन्य खर्चमा लगानी गरेपछि यसको अन्य क्षेत्रमा असर पर्छ । जब कुनै मुलुकले रक्षा क्षेत्रमा उच्च खर्च गर्छ, त्यसको असर अन्य महŒवपूर्ण क्षेत्रहरूमा पर्छ । शिक्षा, स्वास्थ्य, आधारभूत पूर्वाधार जस्ता क्षेत्रमा लगानी घट्ने जोखिम रहन्छ । अमेरिका, रूस र उत्तर कोरियामा सैन्य खर्च वृद्धिको असर नराम्रो छ भने चीनमा पनि रक्षा खर्च वृद्धिको नकारात्मक असर अन्य सेवा क्षेत्रमा देखिन थालेको छ ।