बलिराम शुक्ला, बडनिहार, २२ फागुन/
समृद्विका लागि वन परियोजना रेड कार्यान्वयन केन्द्र, काठमाडौंको सहयोगमा डिभिजन वन कार्यालय, पर्साले बिहीवारदेखि दुई दिने वन डढेलो नियन्त्रण तालीम शुरू गरेको छ ।
विन्ध्यवासिनी कोइलाभार साझेदारी वन उपभोक्ता समितिको सभाहलमा आयोजित तालीमको उद्घाटन डिभिजन वन कार्यालय, पर्साका प्रमुख मन्जुर अहमदले गरेका थिए । उनले फागुनको अन्तिम सातादेखि गर्मीयाम शुरू हुने र त्यस समयमा रूखका सुकेका पातहरू झर्ने र त्यसमा स्थानीयवासीहरूको लापरवाहीले आगो लागी वनमा डढेलो फैलिएर ठूलो क्षति हुने बताए ।
उनले वनजङ्गलसँग जोडिएका बस्तीहरूबाट मानिसहरू वस्तु चराउन जाने, पात, दाउराका लागि वनजङ्गल जाने गरेका र सो क्रममा बिडी, चुरोटको सेवन गर्नेहरूले जथाभावी बिडी र चुरोटका ठुटोहरू फाल्दा सोबाट सुकेका पातहरूमा आगो सल्केर डढेलो लाग्ने गरेको बताए । उनले डढेलोका कारण वनजङ्गलको क्षति हुनुका साथै मानवबस्तीलाई पनि क्षति पार्न सक्ने भन्दै यसमा सचेतना आवश्यक भएको बताए ।
वन कार्यालयको पाटोबाट गरिने सचेतनाका साथै गाउँटोलका मानिसहरूलाई वनजङ्गल प्रवेश गर्दा लाइटर, सलाई जस्ता आगलागी हुने वस्तु लिएर प्रवेश रोक लगाउने अभियानमा समुदायको सहयोग प्रभावकारी हुने बताए । उनले वनकर्मी र सुरक्षाकर्मीहरूको मात्र जिम्मेवारी र दायित्व सम्झिने हो र समुदायले लापरवाही मात्र गर्ने हो भने यो समस्याको समाधान हुनै नसक्ने बताए । वनजङ्गल सबैको हो र यसको संरक्षणमा समुदाय लाग्नै पर्ने सन्देश प्रवाह भएर जिम्मेवारी वहन गर्ने हो भने डढेलोलगायत वन माँस्ने कार्यमा नियन्त्रण हुने बताए ।
दुई दिने तालीममा मुख्य प्रशिक्षक बुद्धि पौडेल, मधेस प्रदेश विपद् व्यवस्थापन गुल्मका चन्द्रिकाप्रसाद यादव र मन्दीपबहादुर मगरले सहभागीहरूलाई प्रशिक्षण दिनेछन् । मुख्य प्रशिक्षक पौडेलले वनमा डढेलो कृत्रिम तरीकाबाट हुने हुँदा वनजङ्गल आसपासका बस्तीबाट मानिसहरूलाई मुख्यतः फागुन–जेठसम्म चार महीना जङ्गल प्रवेशमा रोक लगाउने हो भने डढेलो नियन्त्रणमा निकै सघाउ पुग्ने बताए । उनले डढेलो लाग्दा सुरक्षित तरीकाबाट उपलब्ध स्रोत साधनको प्रयोग गरी नियन्त्रणको प्रयास गर्न सुझाए ।
विन्ध्यवासिनी कोइलाभार साझेदारी वन उपभोक्ता समिति बडनिहारका अध्यक्ष रिजवानुल हकको अध्यक्षतामा भएको तालीममा वनकर्मी, सुरक्षाकर्मी, साझेदारी वनका प्रतिनिधि र स्थानीयवासी सहभागी छन् ।