दोस्रो वीरगंज गोल्डकपः मच्छिन्द्र क्लब फाइनलमा

प्रस, वीरगंज, २२ फागुन/
वीरगंजमा जारी दोस्रो वीरगंज गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत बिहीवार भएको सेमिफाइनल खेलमा मच्छिन्द्र फूटबल क्लब काठमाडौंले सहलेश फूटबल क्लब सिराहालाई एकका विरूद्ध तीन गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

आदर्शनगर रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्रले सहलेश विरूद्ध खेलको १०औं मिनेटमा पहिलो गोल गरेको थियो । मच्छिन्द्रका विदेशी खेलाडी स्टेफन जोलीले पहिलो गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । तिनै जोलीले पहिलो गोल गरेको तीन मिनेटभित्रै दोस्रो गोल गरेका थिए ।

मध्यान्तर अघि दुई गोलको अग्रता लिएको मच्छिन्द्रले मध्यान्तरपछि २०औं मिनेटमा तेस्रो गोल गरेर फाइनल यात्रा सुनिश्चित गरेको थियो । मच्छिन्द्रका आदित्य शाक्यले तेस्रो गोल गरेका थिए । सहलेशले भने इन्जुरी समयको दोस्रो मिनेटमा एक गोल फर्काएको थियो । आजको खेलमा ‘म्यान अफ द म्याच’ मच्छिन्द्रका जोली घोषित भए । उनलाई नगद रू १० हजार र शिल्ड प्रदान गरिएको थियो ।

प्रतियोगिताको फाइनल खेल शनिवार हुने र उपाधिका लागि साबिक विजेता नेपाल पुलिस क्लब र मच्छिन्द्र फूटबल क्लब भिड्ने आयोजक कमिटीका तिवारी यादवले बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्