प्रस, वीरगंज, २२ फागुन/
मुक्कुमलुङमा केबुलकार निर्माण खारेजीका लागि भइरहेको आन्दोलनमा पूर्वमन्त्री रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीले समर्थन जनाएको छ ।
काठमाडौंको माइतीघर मण्डलामा मुक्कुमलुङ जनताको नो केबुलकार आन्दोलनलाई समर्थन गर्दै सो पार्टीका अध्यक्ष अन्सारीले यो आन्दोलन लिम्बूहरूको आन्दोलन मात्रै नभएको भन्दै उत्पीडित जनता, आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला, आर्थिक उत्पीडनमा परेका सबै नेपाली जनताको आन्दोलन रहेको बताए ।
उनले राज्यद्वारा गरिएको दमनको भत्र्सना, निन्दा गर्दै दमन र उत्पीडन गर्ने घटनाका दोषीहरूलाई छानबीन गरी तुरुन्त कारबाही गर्न र वार्ताको वातावरण निर्माण गर्न सरकारसँग माग गरे ।
उनले सरकारले उत्पीडित जनतालाई अधिकार र पहिचान माग्दा र संवैधानिक अधिकारको प्रयोग गर्न खोज्दा राज्यले दमन गर्नुको कारण उत्पीडित समुदायमा एकता नभएरै भएको दाबी गरे । उनले जनताको जायज मागलाई सरकारले सम्बोधन नगरी बन्दुकको डर देखाउँदै आएको आरोप लगाए । उनले सरकारको यो कदम निरङ्कुशतातर्फ लक्षित भएको भन्दै संविधानविपरीत हिन्दू राष्ट्रको माग गर्ने र राजा आऊ देश बचाऊ भन्नेहरूलाई कारबाई गरेर देखाउन चुनौती दिए । सोही कार्यक्रममा उनले रिङ्कु सदायका हत्यारालाई कडा कारबाहीको माग गरे । उनले राज्यबाट जनहितका काम नगरिएकै कारण आम नेपाली जनतामा नैराश्यता छाएको बताउँदै सरकारलाई सकारात्मक काम गर्न सुझाए । उनले सबै खाले उत्पीडन र दमनका विरुद्ध आफ्नो पार्टी अघि बढेर त्यसको विरोध गर्ने बताए ।