नेपालमा बोइलर कुखुराको मासुको खपत वृद्धि भएको छ । यसको व्यवसायले पनि पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति गरेको छ । शहरीकरण, जनसङ्ख्याको वृद्धि र जीवनशैलीमा आएको परिवर्तनका कारण कुखुराको मासुको खपत वृद्धि भएको हो । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक साढे तीन लाख किलो कुखुराको मासु खपत हुने गरेको छ । यो तथ्याङ्कले देशभर कुखुराको मासुको माग तथा खपतको अनुमान गर्न सकिन्छ । तथापि यो व्यवसायले केही चुनौतीहरू सामना गरिरहेको छ । मुख्य चुनौती भनेको भारतीय कुखुरासँगको प्रतिस्पर्धा हो । नेपाली बोइलर कुखुरा व्यवसायीहरूले भारतीय कुखुरासँग मूल्य प्रतिस्पर्धामा चुनौतीहरू सामना गरिरहेका छन् । भारतबाट अवैधरूपमा कुखुरा भित्रिनु र त्यहाँको उत्पादन लागत कम हुनुले नेपाली बजारमा मूल्य प्रतिस्पर्धा गर्न कठिनाइ भएको हो । नेपाली कुखुरा व्यवसायीहरूले उच्च उत्पादन लागतको सामना गरिरहेका छन् । दाना, औषधि र अन्य सामग्रीहरूको मूल्यवृद्धि तथा उत्पादन प्रक्रियामा लाग्ने खर्चका कारण यहाँ उत्पादन लागत बढेको हो । लागतकै कारण नेपाली कुखुराको मासुको मूल्य भारतीय कुखुराको तुलनामा उच्च भएको छ, जसले उपभोक्तालाई भारतीय कुखुरातर्फ स्वतः आकर्षित गरेका छन् ।
भारतीय बोइलर कुखुरा सस्तो हुनुका कारणहरू छन् । भारतमा बोइलर उत्पादन व्यापक मात्रामा गरिन्छ । ठूला पोल्ट्री कम्पनीहरूले लाखौं सङ्ख्यामा कुखुरा पाल्छन् । धेरै उत्पादन भएपछि थोरै फाइदा राख्दा पनि उसलाई मनग्य हुन्छ । नेपालका धेरैजसो पोल्ट्री व्यवसाय साना वा मध्यम स्तरका छन्, जसले उच्च उत्पादन लागत बेहोर्नुपरिरहेको छ । त्यसैगरी, भारतमा कुखुराको दानाको सबैजसो कच्चा पदार्थ मकै, सोयाबिन, हाडको चूर्ण, भिटामिन, औषधिहरू स्वदेशमैं उत्पादन हुन्छ । त्यहाँ दाना उद्योगहरू पनि ठूला भएकाले दाना सस्तो र गुणस्तरीय पाइन्छ । नेपालमा कुखुराको दानाको कच्चा पदार्थको ठूलो हिस्सा भारतबाट आयात गर्नुपर्छ, ढुवानी साथै विभिन्न कर, शुल्कले लागत बढाउँछ । भारतमा पोल्ट्रीका लागि चाहिने औषधि, एन्टिबायोटिक, भिटामिन र खोपहरू स्वदेशमैं उत्पादन हुने र सहजै उपलब्ध छन् । यसो हुँदा जोखिम कम छ । नेपालमा भने पोल्ट्री औषधि प्रायः विदेशबाट आयात गर्नुपर्छ । आधुनिक प्रविधि र मेशीनहरूको प्रयोगले गर्दा भारतमा श्रम लागत घटाउँछ । नेपालमा अधिकांश कुखुरापालन मानिसले गर्छन् ।
नेपाली व्यवसायीले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नका लागि भारत सरकारले जस्तै गरी नेपाल सरकारले ध्यान दिनुपर्ने हुन्छ । पोल्ट्री उद्योगलाई भारतमा जस्तै नेपालमा पनि अनुदान, कर छुट, सस्तो ऋण, सस्तो बिजुली जस्ता सहुलियतहरू प्रदान गर्नुपर्छ । अवैध भारतीय आयातलाई नियन्त्रण गर्दै करको दायरामा ल्याउनुपर्छ । दाना, औषधि र अन्य सामग्रीहरूको मूल्य नियन्त्रण गर्न तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न नीतिगत समर्थन आवश्यक छ । त्यसैगरी, व्यवसायीहरूलाई आधुनिक प्रविधि र तालीम प्रदान गरी उत्पादनशीलता बढाउन सकिन्छ । बजारमा माग र आपूर्तिको सन्तुलन कायम गर्न सरकारी निकायहरूले प्रभावकारी भूमिका खेल्नुपर्छ । यसले मूल्य स्थिरता र व्यवसायीको सुरक्षामा योगदान पु¥याउँछ । साथै उपभोक्ताहरूलाई स्वदेशी उत्पादनको महŒव र गुणस्तरबारे सचेत गराउन प्रचारप्रसार आवश्यक छ ।