अहिले केही दिन पहिले नेपालको विभिन्न प्रदेशमा पानी परेको सुनियो । मधेस प्रदेशको एक–दुई ठाउँमा पनि दुई चार थोपा पानी परेको सुनियो । दुई दिन आकाशमा बादल थियो र त्यसको केही दिन पहिलेदेखि नै आकाश निकै सफा भइरहेको थिएन । एक दिन करीब दिनभर आकाशमा बादल लागेको देखिएको तर पानी परेन । अन्य प्रदेशमा पानी पर्दा मधेस प्रदेशमा पानी नपरेर पनि जब आकाश उघ्रियो तब मौसम सफा देखिएको छ । पारिलो घाम लाग्न शुरू भएको छ । पारिलो घामसँगै हावा पनि चलिरहेको छ । स्वाभाविक हो जब हावा चल्छ, तब मौसम सफा हुन्छ । तर हामीकहाँ लामो समयदेखि पानी नपरेर मौसमले केही फरक प्रवृत्ति देखाइरहेको छ । सामान्यतया किसानहरूले माघ महीनामा एकपटक पानी परोस् भन्ने आशा राख्दछन् तर यस वर्ष कुनै पनि हिउँदे बालीको लागि पानी परेको छैन । अहिले अब पानी पर्ने हो भने कतिपय बालीको लागि फाइदा हुने, कतिपय बालीको लागि नोक्सानी गर्ने समय आइसक्यो । यद्यपि अहिले पनि वर्षाको आशामा किसानहरू रहेका छन् । अहिले पनि यदि पानी पर्ने हो भने गहुँ बालीलाई केही हदसम्म फाइदा पुग्ने नै देखिन्छ तर एक डेढ हप्तामा पानी पर्दा भने फाइदाभन्दा नोक्सानको मात्रा बढ्दै जान्छ किसानको लागि । अर्थात्, अबको दिनमा किसानलाई बिस्तारै खेतीपातीको लागि पानी नचाहिने समय आउँदै गएको छ ।
|
अहिलेको अवस्था कस्तो छ भने दिउँसो घाम लाग्न थालेको छ । अलिकति घाममा हिंड्ने हो वा घाममा काम गर्ने हो भने गर्मी हुन्छ । गर्मी पनि कडा नै लागेको अनुभूति हुन थालेको छ तर साँझ, बिहान तथा राति जाडो छ । कोही साँझको समयमा घरभन्दा बाहिर जान्छन् भने मोटरसाइकलमा हुँदा निकै जाडोको अनुभूति गर्नुपर्छ । यसैगरी बिहानपख पनि घरबाट बाहिर निस्कँदा निकै जाडोको अनुभूति भइरहेको छ । घरमा बस्नेलाई भने साँझतिर खासै जाडो छैन, बिहान भने छ । राति ठिक्कको मौसम लाग्दछ किनभने गर्मी आइसकेको छैन र हल्का जाडो साँझदेखि नै हुन शुरू हुन्छ । रात छिप्पिंदै जाँदा जाडो पनि बढ्दै जान्छ । यसैले धेरै मानिसको दृष्टिकोणमा फागुनको मौसम अनुकूल हुन्छ । न धेरै जाडो, न धेरै गर्मीस ठिक्कको मौसम हुन्छ स्वास्थ्यानुकूल ।
जाडो र गर्मीको दृष्टिकोणले ठीक मौसम रहेजस्तै धेरैको दृष्टिकोणमा खानपानको लागि यो उपयुक्त मौसम हुन्छ । सामान्यतया धेरै किसिमको तरकारी पाइने, अन्य समयको भन्दा सस्तो हुने र दूध तथा दही पनि खुब पाइने मौसम हो । यी सबै दृष्टिकोणले ग्रामीण समाजले यस मौसम वा समयलाई पहिलेदेखि नै राम्रो मान्दै आएको देखिन्छ । खेतमा बाली लहलहाउन लागेको अवस्थामा किसानहरूले सन्तोष मानेका हुन्छन्् । यी सबै उपयुक्तता हुँदाहुँदै पनि वर्तमान समयमा पानी नपरेको धेरै भइसकेकोले प्रदूषणको मात्रा धेरै बढेको अनुभूति भइरहेको छ ।
माथि चर्चा भइसकेको छ, वर्षा नभएको धेरै भइसकेको छ । जब पानी पर्दैन, तब मौसम सुख्खा हुन्छ । अहिले रूख–बिरुवाहरूमा नयाँ पात पलाइरहेको वा पलाइसकेको भए पनि जमीनमा भने सुख्खापन बढिसकेको छ । घाम जति चर्कंदै जान्छ, जमीनमा सुख्खापन बढ्दै जान्छ । अनि खेतमा पनि छारो उड्ने मौसम शुरू हुन्छ । हुनत अहिले नै कच्ची सडकमा धूलो उड्न थालेको छ । जहाँ कच्ची सडक छ, त्यहाँ यातायातको साधन अलिकति छिटो गतिमा गुड्न खोज्दा धूलो र धूवाँले अँध्यारोजस्तै अवस्था सिर्जना हुन थालेको छ । यस्तो नदी जहाँ बालुवा छ, त्यसको छेउछाउमा पनि धूलो निकै उड्न थालेको छ । छारो उडेर निकै टाढासम्म पुग्न थालेको छ । अझै पनि ग्रामीण क्षेत्रमा धेरै सडक पक्की हुन सकेको छैन, कालोपत्रे हुन सकेको छैन । सडकको छेउछाउमा पनि कच्ची जमीन रहेको देखिन्छ । यसैगरी धेरै ग्रामीण सडक टुटेफुटेको अवस्थामा देखिएको छ । पक्की सडकमा पनि धेरै ठाउँमा धूलो हुन्छ । त्यसमाथि सवारी साधनको धूवाँले पनि कमाल गरिरहेको हुन्छ । धूलो र धूवाँको यस्तो परिवेशमा केही थप समस्या भइरहेको हुन्छ । धूलो र धूवाँले मानिसको स्वास्थ्यमा असर नपार्ने कुरै होइन । वर्षा नभएर जमीन सुख्खा हुँदा अन्य वर्षको तुलनामा अहिले धूलो बढी उड्न थालेको कारण सर्वसाधारणले पनि प्रदूषण बढी भइसकेको अनुभव गर्न थालेका छन् ।
हावा त चलिरहेकै छ । हावा चल्दा कुनै सवारी साधनको पछाडि यदि सानो सवारी साधन पर्दछ वा समान किसिमको सवारी साधन अगाडि पछाडि हुन्छ भने पछाडिको सवारी साधनलाई अगाडि हेर्न पनि मुश्किल हुन्छ । मोटरसाइकल छ भने त धूलोले नुहाउनेगरी छोप्छ । कुनै सवारी साधन नहुँदा पनि छारो उडेर मोटरसाइकल चालकलाई निकै अप्ठ्यारो पार्छ । पछाडि परेको सवारी साधनको चालकले सकेसम्म ओभरटेक गर्न चाहन्छ । ओभरटेक गर्दा धूलोले छोपेको अवस्था रहने हुँदा दुर्घटनाको डर पनि त्यत्तिकै हुन्छ । कोही पनि अरूको पछाडि धूलोको मुस्लोबीच गुड्न चाहँदैन र हरेक आपूm अगाडि बढेर कम धूलो भएको क्षेत्रमा प्रवेश गर्न चाहने प्रवृत्ति हुन्छ । धूलोको कारण दुर्घटना हुने डर त छँदैछ, धूलो नाक र मुखभित्रै पस्छ । मानिसलाई सास लिनु त पर्छ नै । सास लिनैपर्ने हुँदा जहाँ छ र जुन अवस्थामा छ सोही अवस्थाको हावा फोक्सोमा पस्छ । ज्ञातव्य छ, धूलोमा सवारी साधनले पनि तुलनात्मकरूपमा बढी धूवाँ फाल्छ । यसरी धूलो र धूवाँ मिसिएको हावा फोक्सोमा हुल्नुपर्ने बाध्यताले स्वास्थ्यमा समस्या आउनु स्वाभाविक हो ।
अहिले पनि कतिपय मानिस मास्क लाएर हिंड्छन् । कसैको मनमा यो प्रश्न उठ्दैन कि किन लगाएको होला । कसैलाई रुघाखोकी लागेको छ भने आपूmमा नसरोस् भनेर मास्क जरुरी देखिन्छ । यसैगरी श्वासप्रश्वासमार्फत सर्ने कतिपय रोगहरूबाट पनि जोगिन मास्क लगाउनु उचित देखिन्छ । यद्यपि अहिले मौसमको जस्तो प्रभाव छ, यसबाट जोगिनको लागि पनि मास्क लगाउनु जरुरी छ । कतिपय सवारी चालकले मास्क अनिवार्य बोकेका हुन्छन् र यस्तो धूलो तथा धूवाँमा यात्रा गर्नुपर्दा अनिवार्य मास्क लगाउँछन् । अहिले शहर बजारमा सवारी साधनको चाप बढी भएको कारण पनि धूलो र धूवाँ दुवैबाट जोगिन शहरमा ग्रामीण क्षेत्रको तुलनामा केही बढी मानिसले मास्क लगाएको देखिन्छ । अहिले दिउँसो गर्मी हुने र राति जाडो हुने मौसम भइसकेको अवस्थामा गर्मी र जाडो दुवैबाट जोगिने किसिमको स्वास्थ्य चेतना पनि जागृत गर्नुपरेको छ । स्वास्थ्यलाई नै सबैभन्दा ठूलो धन मानिएको अवस्थामा स्वास्थ्यबारे समयमैं सचेत हुनु जरुरी छ । अहिले कुनै सरुवा रोगको महामारी नचलेको भए पनि सम्भव हुँदासम्म मौसमी साधारण रोगहरूबाट जोगिन र कम्तीमा धूलो तथा धूवाँबाट जोगिन पनि घरबाट बाहिर निस्कनुपर्दा कुनै किसिमले जोगिने उपाय भने गर्नुपर्छ । समयको आवश्यकतालाई हरेक सचेत नागरिकले बुझ्नु उचित हुन्छ । सचेत नागरिकबाट बिस्तारै सर्वसाधारणले पनि सिक्दै वा अनुकरण गर्दै जाने हुनाले सम्भव भएसम्म स्वास्थ्यबारे अरूलाई पनि सचेत बनाउन अन्य उपायहरूसमेत गर्न सकिन्छ ।