गाँजा कानूनीरूपमा वैध नभए पनि देशका विभिन्न स्थानमा यसको व्यावसायिक खेती भइरहेको पाइन्छ । मधेस प्रदेश अन्तर्गत पर्सा, बारा, रौतहट, सर्लाहीलगायत जिल्लामा गाँजाखेतीको इतिहास पुरानो छ । तर एक दशकदेखि पर्सा जिल्लामा हुँदै आएको गाँजाखेती अहिले नगण्यरूपमा लुकीछिपी हुने गरेको छ । यसरी गाँजाखेती हुनुको पनि कारण छ । छिमेकी बाग्मती प्रदेशको मकवानपुर र धादिङमा गाँजाखेती अहिलेसम्म बन्द गर्न सकिएको छैन । त्यहाँबाट गाँजा विशेषगरी पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनको बाटो पर्सा जिल्लाका विभिन्न स्थानमा ल्याएर भण्डार गर्ने अनि सीमावर्ती भारत पठाउने क्रम रोकिएको छैन । वनजङ्गल र सडक बाटो बाराको जीतपुर हुँदै पर्सा जिल्लाका विभिन्न स्थानमा भण्डार गर्ने क्रम नरोकिएको र यसबीचमा गाँजाको मोल आकाशिएसँगै पर्सा र बारामा पनि गाँजाखेती बिस्तारै शुरू भएको देखिन्छ । पर्सा र बारा प्रहरीले पछिल्ला समयमा गाँजाखेती फँडानी गरेको तथ्याङ्कले पनि यी जिल्लामा यस वर्ष गाँजाखेती बढेको पुष्टि गर्छ । छिमेकी जिल्लामा निर्बाधरूपमा गाँजाखेती हुँदै आएको र यसको ढुवानीमा संलग्न व्यक्तिहरू मालामाल भएका दृश्यले यहाँका मानिसमा पनि गाँजाखेती गर्ने लालसा बढेको पाइन्छ ।
गाँजा विशेषगरी पुस–माघ महीनामा पाक्ने गर्छ । तर पर्सा र बारामा भने यही महीनामा प्रहरीले फँडानी अभियान चलाउने गरेको पनि पाइन्छ । यसैले पनि प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ । गाँजा पाकिसकेपछि फँडानी गर्नु प्रभावकारी उपाय पक्कै पनि होइन । कानून कार्यान्वयन गर्ने निकायले खेतीको सुरुआती चरणमैं निगरानी गर्दैन र त्यसपछिको समयमा सक्रियता बढाउँछ, जसले गर्दा प्रहरीले फँडानी गरेको हो कि पाकेको गाँजा काटेर यो खेती गर्नेहरूलाई सघाएको हो बुझ्न सकिएको छैन ? पर्सामा गाँजा रोपेको छ महीना भइसकेको छ । बिरुवा बढ्दै गर्दा प्रहरीले वास्तै गरेन । गाँजा पाकिसकेपछि फँडानी गर्न प्रहरी परिचालित हुनु शङ्कास्पद मानिएको छ । प्रहरीको यही कार्यले गर्दा नै उसको संलग्नता, मिलेमतो अथवा हेलचेक्रयाइँ देखिएको हो । प्रहरीलाई सूचना नपुगेको भन्नु सम्भव देखिन्न ।
किनकि गाँजाखेती प्रहरीको सूचना र सम्पर्क एवं नियन्त्रित क्षेत्रभित्रै खुलारूपमा भएको पाइएको छ । यसले प्रहरीको मौन समर्थन वा आर्थिक लेनदेनको आशङ्का उत्पन्न हुन अस्वाभाविक होइन ।
गाँजाखेती वास्तवमा नियन्त्रण नै गर्ने हो भने जग्गा प्रयोग गर्ने किसान, जमीनधनी र बिचौलियाहरूको पहिचान गरेर उनीहरूलाई कानूनसम्मत कारबाही गर्न सक्नुपर्छ । यस अघिका गाँजाविरोधी अभियानमा यहाँका प्रहरी प्रमुखहरूले सोही कार्य गरेका कारण गाँजाखेती निरुत्साहित भएको थियो । गाँजाखेती रोक्न जिल्लाका प्रहरीले मातहतका चौकीहरूलाई सचेत पार्नुपर्छ । कसैको क्षेत्रमा यो खेती भएको छ भने त्यसविरुद्ध कारबाही हुने नीति अख्तियार भएपछि प्रहरी सक्रियतामा वृद्धि हुन्छ र खेती गर्नेविरूद्ध कठोर कदम चाल्छ अनि गाँजाखेती गर्नुहुँदैन भन्ने सन्देश सर्वत्र फैलन्छ । अहिलेको आधुनिक युगमा प्रहरीले ड्रोन क्यामराको माध्यमबाट अथवा पुरानो शैली अनुसार सुराकी प्रयोग गरेर गाँजाखेती नियन्त्रण अभियान सञ्चालन गर्न सक्छ । तर प्रहरी उत्तरदायीपूर्ण भूमिका निर्वाहमा अहिलेसम्म इमानदार नदेखिएकै परिणाम हो, जिल्लामा नियन्त्रण भएको गाँजाखेती बिस्तारै मौलाउँदै छ ।