स्ववियु निर्वाचनः विद्यार्थीहरूमा उत्साह बढ्दो, ठाराबमा ३४ र नर्सिङमा चारवटा सङ्गठन दर्ता

प्रस, वीरगंज, १९ फागुन/
आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि सोमवार सङ्घ, सङ्गठन र समूह दर्ता कार्य सम्पन्न भएको छ ।

ठाकुर राम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि ३४ वटा फाराम दर्ता भएको निर्वाचन अधिकृत दिलीप सिंहले बताए ।

उनले आज स्ववियु निर्वाचनका लागि अखिल क्रान्तिकारी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (समिक बडाल), जय नेपाल तरुण विद्यार्थी युनियन (क्रान्तिकारी), नेपाली काङ्ग्रेस विद्यार्थी सङ्घ समूह, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (महेश श्रेष्ठ), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, समाजवादी विद्यार्थी युनियन नेपाल, सुधीर पटेल समूह, समाजवादी विद्यार्थी युनियन, स्वतन्त्र युवा समूह, ठाकुर राम विद्यार्थी समूह, भोट फर चेन्ज विद्यार्थी युनियन, सेवा विद्यार्थी समूह नेपाल, राष्ट्रिय विद्यार्थी सङ्घ, शुभम समूह दल, विद्यार्थी जनमत सङ्घ, राष्ट्रिय बजरङ्ग दल युवा समूह, पर्सा विद्यार्थी युनियन, नयाँ शक्ति विद्यार्थी युनियन, नेपाल विद्यार्थी सङ्घ, विशालकुमार समूह, इन्टेलिजेन्ट स्टुडेन्ट युनियन, नेपाल विद्यार्थी समूह, जय नेपाल विद्यार्थी सङ्घ, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, राघव पटेल समूह, जय विद्यार्थी समूह, दिलीपराज महतो स्ववियु समूह, मुस्कान महिला समाज, नेपाल विद्यार्थी कल्याण सङ्घ, विकास समूह र चेन्ज द सिस्टम समूह गरी ३४ वटा सङ्घ, सङ्गठन, संयुक्त प्यानल र समूह दर्ता भएकोे जानकारी गराएका र फागुन २१ गते मतदाता सूची प्रकाशन हुने बताए ।

ठाराब क्याम्पसमा सङ्घ, सङ्गठन र समूह दर्ताका लागि आज दिनभर विद्यार्थीहरूको भीड लागेको थियो । विभिन्न दलहरूसँग आबद्ध भ्रातृ सङ्गठनहरूले आआफ्नो समूह दर्ता गराएका थिए । ३४ वटा सङ्घ, सङ्गठन, संयुक्त प्यानल र समूह दर्ताका लागि विद्यार्थीहरू दलबलसहित क्याम्पस पुगेका थिए । ठाराब क्याम्पसमा १६ वर्षपछि स्ववियुको निर्वाचन हुन गइरहेको छ । प्रत्येक दुई वर्षमा हुने स्ववियु निर्वाचन यो क्याम्पसमा २०६५ सालपछि हुन सकेको छैन । ठाराब क्याम्पसमा नेविसङ्घको वर्चस्व कायम रहँदै आएको छ । यस अघि पनि स्ववियु सभापतिमा नेविसङ्घकै उम्मेदवार विजयी भएका थिए ।

यता चिकित्साशास्त्र अध्ययन संस्थान वीरगंज नर्सिङ क्याम्पसमा चारवटा सङ्घ, सङ्गठनले फाराम दर्ता गराएको सो क्याम्पसकी निर्वाचन अधिकृत अञ्जुकुमारी महतोले बताइन् ।

उनले अनेरास्ववियु, नेविसङ्घ, अखिल क्रान्तिकारी र अनेरास्ववियु समाजवादी गरी चारवटा सङ्घ, सङ्गठन दर्ता भएको बताइन् । चिकित्साशास्त्र अध्ययन संस्थानमा २७५ जना मतदाता छन् ।

यो क्याम्पसमा भने गत स्ववियु निर्वाचन २०७९ सालमा भएको थियो र अनेरास्ववियुकी मनीषा चौधरीले जितेकी थिइन् । यहाँ पनि २०६५ सालपछि अर्थात् १४ वर्षको लामो अवधिमा स्ववियु निर्वाचन भएको थियो । यस क्याम्पसमा अहिलेसम्म नेविसङ्ले एकपटक मात्र जितेको छ भने अनेरास्ववियुको एकक्षत्र वर्चस्व देखिएको थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्