कन्भर्सन डिसअर्डरका कारण विद्यार्थीहरू बेहोश

प्रस, पोखरिया, १९ फागुन/
कालिकामाई गाउँपालिका–४ परशुरामपुरस्थित नेरामाविमा अध्ययनरत विद्यार्थीहरू सोमवार दिउँसो बेहोश भएपछि विद्यालय बन्द गरिएको छ ।

विद्यालयमा अध्ययनरत १४ जना छात्रछात्रा बेहोश भएको बताइन्छ । उनीहरूमध्ये एकजना छात्र र बाँकी छात्राहरू थिए । बेहोश भएका सबैलाई प्रादेशिक अस्पताल पोखरियामा उपचारका लागि पठाइएको थियो ।

पोखरिया अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अनिल यादवले १३ जना छात्रा उपचारपछि घर फर्केका र एकजना छात्रलाई उनको अभिभावकले उपचारका लागि नारायणी अस्पताल लगेको बताए ।

विद्यार्थीहरू बेहोश हुनुको कारण उनले कन्भर्सन डिसअर्डर अर्थात् मनोरोग भएको बताए । विद्यार्थीहरूमध्ये एकजनालाई यस प्रकारको समस्या भएपछि अन्य विद्यार्थीहरू पनि यसको शिकार हुने हुँदा आज सो विद्यालयमा यस्तो समस्या देखिएको उनले बताए ।

नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले कन्भर्सन डिसअर्डर भएपछि छटपटी हुने, बेहोश भएर एक्कासि लड्ने जस्ता समस्याहरू हुने बताए । आज विद्यार्थीहरूमा सोही समस्या भएको उनले बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्