यस वर्ष सेन्टर किनबेच हुँदैन –प्रजिअ अर्याल

प्रस, वीरगंज, १९ फागुन/
आगामी चैत ७ गतेदेखि शुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मर्यादितरूपमा सञ्चालन गर्नका लागि सोमवार सरोकारवालाहरूबीच छलफल गरिएको छ ।

शिक्षा विकास एवं समन्वय कार्यालय, पर्साले जिल्ला प्रशासन कार्यालय, पर्साको सभाकक्षमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी प्रधानाध्यापक, सहायक प्रअ, शिक्षक सङ्गठन, अभिभावक सङ्घका प्रतिनिधिहरूले गत वर्षको तुलनामा यस वर्ष एसइईलाई अझ मर्यादित बनाउनका लागि आआफ्नो तहबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयले परीक्षामा चिट चोर्ने कार्यलाई निरुत्साहित गर्ने र यसमा संलग्न जोसुकैलाई कारबाही गरिने चेतावनी दिए । उनले पर्सामा सेन्टर किनबेच हुने गरेको आफूले सुनेको भन्दै त्यस्तो भएको पाइएमा कारबाही हुने चेताए ।

उनले एसइईमा संस्थागत विद्यालयहरूको चलखेल हुने गरेको र उनीहरूले विद्यार्थी, अभिभावकसँग यस चलखेलको लागि रकम असुल गर्ने गरेको सुन्नमा आएको भन्दै त्यस्तो कार्यमा संलग्नहरूलाई खोजीखोजी कारबाही गरिने चेतावनी दिए ।

पूर्व शिक्षा अधिकारी एवं हाल बहुदरमाई गापाका प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंहले परीक्षामा गार्डका लागि पनि मन्त्रीहरूबाट सिफारिश हुने गरेको स्मरण गरे । उनले परीक्षागार्ड राख्नका लागि मन्त्रीको सिफारिश आउने भएकाले परीक्षा मर्यादित गर्ने विषय चुनौतीपूर्ण रहेको बताए ।

कार्यक्रममा अभिभावक सङ्घका प्रतिनिधिले परीक्षालाई मर्यादित बनाउने विषयमा चिन्तित हुनुभन्दा पढाइलाई गुणस्तरीय बनाउनेतर्फ पनि विचार गर्नुपर्ने बताए । उनले सामुदायिक विद्यालयहरूमा पिएचडी गरेका शिक्षकहरू बहाल रहे पनि शिक्षाको स्तर नबढेको पाइएको र यसमा सरोकारवालाहरू चिन्तित नदेखिनु उदेकलाग्दो विषय भएको बताए ।

विद्यार्थीहरू बिहान १० देखि साँझ ५ बजेसम्म विद्यालयमा अध्ययन गर्ने गरे पनि उनीहरूको परीक्षाफल नराम्रो आएमा अभिभावकलाई दोष थुपारेर उम्कने प्रवृत्ति सुहाउँदो नभएको भन्दै यसको जिम्मेवारी सम्बन्धित विद्यालय र शिक्षकहरूले लिनुपर्ने तर्क गरे ।

उनले शिक्षाको स्तर बढाउनेतर्फ विशेष ध्यान केन्द्रित गर्दा परीक्षा आफैं मर्यादित हुने दाबी गरे । अध्ययन राम्रो नभएपछि परीक्षामा विकृति देखिनु स्वाभाविक हुने उनको तर्क थियो ।

पर्सामा २०८१ सालको एसइई नियमिततर्फ नौ हजार ९७३, प्राविधिकतर्फ २१०, ग्रेड वृद्धितर्फ एक हजार २३० गरी ११ हजार ४१३ विद्यार्थी सम्मिलित छन् । यसमध्ये सामुदायिकतर्फ नौ हजार ४९ र संस्थागततर्फ दुई हजार ३६४ जना विद्यार्थी रहेको जानकारी गराइएको थियो । सामुदायिक विद्यालयमा २८ र संस्थागत विद्यालयमा एउटा गरी पर्सामा २९ वटा परीक्षा केन्द्र रहेका छन् ।

वीरगंज महानगरमा १७ र महानगरबाहिर १२ वटा परीक्षा केन्द्र तोकिएको छ । पर्सामा ७० वटा सामुदायिक विद्यालय तथा ५० वटा निजी विद्यालयका विद्यार्थीहरू यस वर्ष एसइईमा सहभागी हुँदैछन् ।

२० वटा परीक्षा केन्द्रमध्ये द्वारदेवी मावि अलौं, रामचरित्र मावि पकहामैनपुर, मङ्गल मावि भिस्वा गरी चारवटा विद्यालयका परीक्षा केन्द्र जोखिमपूर्ण रहेको समन्वय एकाइ प्रमुख हरिप्रसाद कुर्मीले बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्