प्रस, वीरगंज, १९ फागुन/
नेकपा एमालेका केन्द्रीय सदस्य एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले एमाले पार्टीले देशमा विकास र समृद्धि ल्याउने बताए । उनले एमालेले सरकारको नेतृत्व गर्दा देश विकास र समृद्धिमा अगाडि बढेको र अहिले पनि बढिरहेको दाबी गरे ।
नेकपा एमाले विन्ध्यवासिनी गापा कमिटीले सोमवार बहुअर्वाभाठामा आयोजना गरेको दोस्रो गापा अधिवेशनमा मन्त्री गुप्ताले एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको दाबी गरे ।
उनले विसं २०५१ र विसं २०७२ को राजनीतिक परिवर्तनपछि सरकारको नेतृत्व गर्दा एमालेले विकासका काम गरेर नागरिकको मन जितेको बताए । उनले भने– अहिले पनि तीनै तहमा एमाले नेतृत्व आएमा नागरिकको समृद्धिको आकाङ्क्षा पूरा हुन सक्छ ।
एमालेले समाजमा सहयोग आवश्यक पर्ने वर्गलाई विशेष सम्मान र आरक्षण गर्दै आएको मन्त्री गुप्ताले बताए । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एमाले नेतृत्वको सरकारले दिन शुरू गरेको र समय अनुसार सामाजिक सुरक्षा भत्तालाई वृद्धि गर्ने काम पनि एमाले सरकारको पालामा हुँदै आएको बताए । उनले जनता आवास कार्यक्रम र प्रत्येक गाउँलाई शहरसँग जोड्ने योजना अन्तर्गत हुलाकी राजमार्गसमेत एमालेले ल्याएको उनले दाबी गरे ।
नेपाली काङ्ग्रेस र एमाले नेतृत्वको सरकारमा आफूले पाएको मन्त्रालयको जिम्मेवारी सम्हाल्दै देशकै प्रमुख समस्याको रूपमा खडा भएको सङ्घीय निजामती ऐनको विवाद पटकपटक वार्ता र छलफल गर्दै अन्तिम चरणसम्म पु¥याएको बताउँदै उनले केही दिनभित्रै सङ्घीय निजामती ऐन पारित हुने जानकारी गराए ।