अदालतको आदेशबाट सार्वजनिक जग्गा महानगरको अधीनमा

प्रस, वीरगंज, १८ फागुन/
वीरगंज महानगरपालिका–३१ बेल्वामा रहेको दुई बिघा जग्गा अदालतको आदेशपछि महानगरले आफ्नो अधीनमा लिएको छ ।

स्थानीय हसमुद्दीन अन्सारीले कलामुद्दीन, जैनुुद्दीन र बसरुद्दीन अन्सारीविरुद्ध सार्वजनिक जग्गा कब्जा गरेको भन्दै उच्च अदालत वीरगंज इजलासमा रिट निवेदन दर्ता गराएका थिए ।

उनको रिटमाथि गत पुस ५ गते अदालतका न्यायाधीशद्वय मोहनराज भट्टराई र हरिप्रसाद पौडेलको संयुक्त इजलासले सार्वजनिक जग्गा कसैको कब्जामा हुनुहुँदैन भन्दै सार्वजनिक प्रयोजनमा ल्याउन आदेश जारी गरेको थियो ।

आदेशको प्रतिलिपि हालै महानगरमा आएको र आज महानगरले सो अतिक्रमित सार्वजनिक जग्गालाई खाली गराएर आफ्नो नाममा नापजाँच गराएको नगरप्रमुख राजेशमान सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले बताए । अदालतको आदेशबमोजिम नगरप्रमुख सिंहका सचिवालय सल्लाहकार हरि पोखरेल नेतृत्वको टोलीले आज सर्वेक्षकसहित घटनास्थलमा पुगेर अतिक्रमित जग्गा नापजाँच गरी महानगरको अधीनमा ल्याएको फुयाँलले बताए । वडाध्यक्ष जीतेन्द्र यादवले अतिक्रमित सार्वजनिक जग्गाको नापनक्शा गरेर किला खुट्टी गाडिएको बताए । दुई बिघा सार्वजनिक जग्गा अन्सारीत्रयले लामो समयदेखि अतिक्रमण गरी भोग गर्दै आएका थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्