प्रस, वीरगंज, १८ फागुन/
दोस्रो वीरगंज गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत आइतवार दोस्रो दिनको खेलमा सिराहाको सहलेश
फूटबल क्लब टाइबे्रकरमा विजयी भएको छ ।
आदर्शनगर रङ्गशालामा प्रतियोगिताको आजको खेलमा सहलेश फूटबल क्लब टाइब्रेकरमा सङ्कटा फूटबल क्लब काठमाडौंलाई चारका विरुद्ध पाँच गोल गरी विजयी भएको हो ।
निर्धारित ९० मिनेटको खेल अवधिमा दुवै टीमले गोलरहित बराबरी खेलेका थिए । निर्धारित समयमा जीतहारको निर्णय नभएपछि टाइब्रेकर गराइएको थियो ।
सङ्कटाको तर्फबाट कप्तान सुदीप गुरुङ, राजीव लोप्चन, इसेरिङ लामा र सोम कर्लोसले गोल गरे भने राम थापाले हिर्काएको बल पोस्टबाहिर गएको थियो ।
सहलेशका पाँचैजना खिलाडी गोल गर्न सफल भए । सहलेशका एमबाउन अनिसेट, सुमित श्रेष्ठ, अमन लामा, शिसिस लेखी र जय गुरुङले गोल गरी जीत पक्का गरे । आजको खेलमा सहलेशका गोलकीपर विशाल सुनार ‘म्यान अफ द म्याच’ घोषित भए । उनलाई नगद रु १० हजार र शिल्ड प्रदान गरिएको थियो ।
भोलि सोमवार नेपाल पुलिस क्लब र बाग्मती फूटबल क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका सदस्य सन्तोष खनालले बताए ।