पर्सागढीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, खेलले विद्यार्थीहरूको बहुआयामिक विकास हुन्छ –नगरप्रमुख पाठक

नरेश यादव, पर्सागढी, १८ फागुन/
‘स्वास्थ्यको लागि खेलकूद राष्ट्रको लागि खेलकूद’ नाराका साथ आइतवारदेखि पर्सागढी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ ।

पर्सागढी नपाको आर्थिक सहयोगमा जनता मावि पकडिया बडनिहारले आयोजना गरेको दोस्रो पर्सागढी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन नगरप्रमुख गोकर्ण पाठकले गरेका थिए । उनले प्रतिकूल मौसमका कारण पर्सागढीमा एक वर्ष यो प्रतियोगिता हुन नसकेर दोस्रोपटक भइरहेको बताए । उनले नियमितरूपमा प्रतियोगिता भएको भए यो तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुने बताए । आफू निर्वाचित भएपछि प्रतियोगिताको तयारी गर्दा अत्यधिक गर्मी भएकोले स्थगित गर्नुपरेको बताए । प्रतियोगिताले विद्यार्थीहरूको बहुआयामिक प्रतिभा उजागर हुने उनले बताए । आफ्नो कार्यकालमा खेलकूदलाई प्राथमिकतामा राखेको उनले दाबी गरे । नगरप्रमुख पाठकले विद्यार्थीहरूमा किताबी ज्ञानका साथै अतिरिक्त क्रियाकलापमा रुचि हुनुपर्ने बताए । खेलकूद, सामान्य ज्ञान र अहिलेको प्रविधिमैत्री वातावरण प्रदान गर्न सके विद्यार्थीहरूको सर्वाङ्गीण विकास हुने बताए । उनले प्रतियोगिता निष्पक्षरूपमा सञ्चालन हुने कुरामा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा उपप्रमुख पूजा चौधरी, शिक्षा शाखा प्रमुख कपिल लामिछाने, प्रअ चेतमन चौधरी, मोहनदास थारू, शिक्षक, शिक्षिका, विद्यार्थीहरूको सहभागिता थियो । जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत डिल्लीराम आचार्य र सहजीकरण अमित चौधरीले गरेका थिए । पर्सागढी नपाका १३ वटा विद्यालय सहभागी प्रतियोगिता फागुन २० गते मङ्गलवारसम्म सञ्चालन हुनेछ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्