युक्रेन र अमेरिकाबीचको पछिल्लो तिक्तताले विश्व राजनीतिमा नयाँ समीकरणको सङ्केत दिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको विवाद कूटनीतिक असमझदारीको उपज मात्र होइन, यो एउटा रणनीतिक तथा स्वार्थ केन्द्रित घटनाक्रम हो । हिजोसम्म युक्रेनलाई आर्थिक तथा सैन्य सहायता गर्दै आएको अमेरिका आज किन युक्रेनसँग दुर्लभ खनिज सम्पदाको व्यापार गर्न खोजिरहेको छ ? यो प्रश्नले नै अमेरिकी विदेश नीतिको यथार्थता उजागर हुन्छ । सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेपछि अमेरिकाले युक्रेनलाई सैन्य र आर्थिक सहयोग प्रदान गर्दै आएको थियो । यो सहयोग स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्ने उद्देश्यका रूपमा प्रस्तुत गरियो । तर पछिल्लो घटनाक्रमले अमेरिकाको सहायता विशुद्ध रणनीतिक स्वार्थमा आधारित थियो भन्ने देखाएको छ । प्रारम्भिक रूपमा अमेरिकाले रूसलाई कमजोर बनाउन युक्रेनलाई समर्थन गरेको देखिन्छ । तर जब सहयोगले प्रतिफल दिन नसकेको अनुभूति भयो, तब अमेरिकाले आफ्नो स्वार्थ पूरा गर्ने नीति अख्तियार गरेको छ । दुर्लभ खनिजमा अमेरिकी चासो हुनु, यसको स्पष्ट प्रमाण हो ।
प्रारम्भमा पूर्णरूपमा युक्रेनलाई सैन्य सहायता गर्ने प्रतिज्ञा गरेको अमेरिकाले अहिले सहयोगमा कटौती गर्दैछ । ट्रम्प प्रशासनले युक्रेनको भविष्य सुनिश्चित गर्नुभन्दा आफ्नै राष्ट्रिय हितलाई प्राथमिकता दिने नीति लिएको देखिन्छ । युक्रेनमा रहेका दुर्लभ खनिज अमेरिकाको प्रविधि र सैन्य उद्योगका लागि अति महŒवपूर्ण छ । यो कुरा बुझेको अमेरिकाले सहयोगलाई शर्तमा बाँधेर युक्रेनलाई सम्झौताका लागि बाध्य पार्न खोजिरहेको छ । अर्कोतर्फ रूससँगको रणनीतिक सम्बन्ध सुधार गर्ने प्रयासमा अमेरिका लागिपरेको छ । ट्रम्प प्रशासनले रूससँगको तनाव घटाउने र अमेरिकी प्रभुत्व कायम राख्ने उद्देश्य राखेको देखिन्छ । यसका लागि युक्रेनको मामिलालाई दोस्रो प्राथमिकतामा राख्ने रणनीति अख्तियार गरिएको छ । अमेरिका–युक्रेन सम्बन्धमा आएको चीसोपनले युरोपेली मुलुकहरूलाई असहज परिस्थितिमा पु¥याएको छ । नेटो राष्ट्रहरू विशेषतः पोल्यान्ड, फ्रान्स, बेलायत र जर्मनी युक्रेनलाई सहयोग गर्ने पक्षमा छन् । अमेरिकाले युक्रेनलाई सहयोग नगर्न सक्ने सम्भावनाले युरोपियन युनियनभित्र असन्तोष बढ्ने निश्चित छ । युरोपेली सङ्घ र अमेरिकाबीच रणनीतिक दृष्टिकोण फरक देखिन थालेको छ, जसले लामो समयसम्म असर पार्न सक्छ ।
अन्य मुलुकले जतिसुकै सहयोग गरे पनि अमेरिकी साथ गुमाउँदै गएमा युक्रेन अब आफ्नो रणनीति पुनर्विचार गर्न बाध्य हुनेछ । जेलेन्स्कीको अमेरिका केन्द्रित नीति अब असफल भइसक्यो भन्दा हुन्छ । युक्रेनले अब रूससँग वार्ताको प्रयास गर्नुपर्ने सम्भावना बढेको छ । तर विगतको कटु इतिहासका कारण रूस–युक्रेन सम्बन्ध छिट्टै सुधार हुने सम्भावना गा¥हो छ । यसो हो भने युक्रेन अझ बढी अस्थिरतामा फस्न सक्छ । युक्रेनले लामो समयसम्म अमेरिकामाथि निर्भर भएर रणनीति बनायो । विदेशी शक्तिहरूको भरोसा टिकाउ हुँदैन भन्ने कुरा यस घटनाले देखाएको छ । नेपाललगायतका साना मुलुकहरूले यस घटनाबाट पाठ सिक्न जरुरी छ । परनिर्भर नीति स्थिर नहुने हुँदा सार्वभौम सम्प्रभुत्व सम्पन्न मुलुकले त्यस्ता परराष्ट्र नीति पुनर्विचार गर्न आवश्यक छ । नेपालले अमेरिका, भारत, चीनलगायतका मुलुकहरूसँग सम्बन्ध राख्दा आफ्नो स्वार्थ पहिचान गरेर मात्र सहकार्य गर्नुपर्छ । अन्यथा युक्रेनझैं शक्ति राष्ट्रहरूको स्वार्थको खेलमा पर्ने जोखिम रहन्छ ।