पत्रकारिताको विश्वसनीयता घट्दो –सभामुुख मण्डल

प्रस, निजगढ, १७ फागुन/
पत्रकारिता क्षेत्रको विश्वसनीयता दिन प्रतिदिन घटिरहेको र यस क्षेत्रमा आवश्यक सुधार गर्दै साख जोगाउन पत्रकारहरू नै इमानदारीका साथ अघि बढ्नुपर्ने मधेस प्रदेशका सभामुख माननीय रामचन्द्र मण्डलले बताएका छन् ।

बाराको कोल्हवीमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मधेस प्रदेशको पाँचौं साधारणसभाको उद्घाटन गर्दै उनले मानव समाजलाई नियाल्ने हो भने, समाज विकासमा आदिवासी जनजाति, मूलवासीको योगदानलाई बिर्सन नहुने बताए । अहिले हामीले बोल्ने भाषा, संस्कृतिको इतिहास हेर्ने हो भने सोको विकासको लागि आदिवासी जनजातिको हजारौं वर्षको लगानी रहेको उनले बताए ।

प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पत्रकारिता क्षेत्र कमजोर हुनुहुँदैन भन्दै बढी स्वतन्त्रताका कारण अहिले समाजका जुनसुकै क्षेत्रमा अराजकता फैलिएको छ, सभामुख मण्डलले भने । “पत्रकारिता र लोकतन्त्र एकअर्काका पर्यायवाची हुन्,” उनले भने । पत्रकारिता क्षेत्रमा धेरै समस्या र चुनौती रहे पनि निष्पक्षता, सत्यता, विश्वसनीयता हुनैपर्ने औल्याउँदै पत्रकार जहिल्यै पनि समाजको सुुधारको पक्षमा उभिनुपर्ने र सरकारलाई झक्झकाउने र खबरदारी गर्नुपर्ने दायित्व र जिम्मेवारीको भूमिकामा रहनुपर्ने सभामुख मण्डलले बताए । पत्रकार हरेक क्षण सचेत, सजग हुनुपर्छ । व्यवस्थापिका र पत्रकारिताबीच समन्वय हुुन जरुरी रहेको भन्दै समाज र राज्यले अझै इमानदार मानिसलाई चिन्न नसकेको बताए । उनले सबै क्षेत्रमा सुधारको आवश्यकता रहेको पनि जिकिर गरे । “अहिले समाजमा जालझेल, षड्यन्त्र ज्यादै बढ्दो छ । जनता र सरकारबीच सन्तुुलन कायम गर्न पत्रकारिता क्षेत्रले भूमिका निर्वाह गर्नुपर्छ । लोकतान्त्रिक व्यवस्थामा सबैले फल्न, फुल्न, फक्रिन पाउनुपर्छ,” उनले भने, “पटकपटक संविधानका विषयमा प्रश्न उठिरहेका छन् । यसतर्फ सबै दलले सोच्नुपर्छ ।”

कार्यक्रममा मधेस प्रदेश सांसद त्रिलोकी चौधरी, देवनारायण चौधरी, मञ्जुु थापामगर, कोल्हवी नगरप्रमुख रामप्रसाद चौधरी, फोनिज सङ्घीय समितिका वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, सङ्घीय समितिका उपाध्यक्ष अमरध्वज लामा, सङ्घीय समितिका महासचिव समीर बलामी, नेपाल पत्रकार महासङ्घ लेखा समिति संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ मधेस प्रदेश इन्चार्ज नीरज पिठाकोटेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा क्रिएटिभ क्रियाशील पत्रकारिता पुुरस्कार डम्बर राई र लक्ष्मी चौधरीलाई तथा देवनारायण गनिया स्मृति पत्रकारिता पुुरस्कार रीना आलेमगर र सत्यप्रसाद श्रेष्ठ प्रदान गरिएको थियो । पुरस्कारस्वरूप जनही १० हजार नगद प्रदान गरिएको थियो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मधेस प्रदेशका अध्यक्ष दुश्यन्त चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत विजेन्द्रकुमार श्रेष्ठ र सञ्चालन बृजमान तामाङले गरेका थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्