प्रस, वीरगंज, १७ फागुन/
वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित रङ्गशालामा शनिवारदेखि शुरू भएको दोस्रो वीरगंज गोल्डकप फूटबल प्रतियोगिताको उद्घाटन खेलमा वीरगंज युनाइटेड विजयी भएको छ । यस अघि सो प्रतियोगिताको उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका थिए ।
वीरगंज युनाइटेडले गडवाल डायमन्ड एफसी दिल्ली, भारतलाई शून्यका विरुद्ध एक गोलअन्तरले पराजित गरेर प्रतियोगितामा विजयी सुरुआत गरेको छ । खेलको मध्यान्तर अघि वीरगंज युनाइटेड क्लबले पाएको पेनाल्टी सुट कप्तान शिशस थापाले खेर फालेका थिए ।
मध्यान्तरपछिको खेलको सुरुआतमैं दिल्लीको डायमन्ड एफसीका सन्दीप रानाले गोल बचावट गर्ने क्रममा बल आफ्नै जालीमा गएपछि आत्मघाती गोल भएको थियो ।
भेन्ट्रान्स सिटी फूटबल क्लबले आयोजना गरेको फूटबल प्रतियोगितामा भारतको गडवाल डायमन्ड एफसी दिल्लीसहित नेपाल पुलिस क्लब, मच्छिन्द्रनाथ काठमाडौं, चर्च ब्वाइज युनाइटेड काठमाडौं, सङ्कटा काठमाडौं, बाग्मती युथ क्लब सर्लाही, सहलेश युवा क्लब सिराहा र वीरगंज युनाइटेड क्लब सहभागी छन् । आठवटा टीमलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ अन्तर्गत आज गडवाल डायमन्ड एफसी दिल्ली र वीरगंज युनाइटेड क्लबबीच उद्घाटन खेल भएको हो । भोलि फागुन १८ गते आइतवार समूह ‘बी’ अन्तर्गत सहलेश फूटबल क्लब सिराहा र सङ्कटा फूटबल क्लब काठमाडौंबीच खेल हुने आयोजक क्लबका सदस्य सन्तोष खनालले बताए ।
गत वर्षदेखि सञ्चालित यो प्रतियोगिता मधेस प्रदेशकै सबैभन्दा ठूलो राशिको प्रतियोगिता पनि हो । प्रतियोगिताको विजयी टीमलाई ११
लाख ११ हजार १११, उपविजेता टीमलाई पाँच लाख ५५ हजार ५५५ पुरस्कारको व्यवस्था गरिएको छ ।
यसैगरी, प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कूटी, उत्कृष्ट गोलकीपर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु २०/२० हजार नगद तथा प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई रु १० हजार नगद प्रदान गरिने यस अघि पत्रकार सम्मेलन गरी क्लबले जानकारी गराएको थियो ।