प्रस, वीरगंज, १६ फागुन/
वीरगंज महानगरपालिका कार्यालयले बिपी उद्यानको अतिक्रमण हटाउने चासो देखाएको छैन ।
दुई महीना अघि महानगरपालिका कार्यालयले सूचना प्रकाशन गर्दै बिपी उद्यान खाली गर्न सूचित गरेको थियो । महानगरपालिकाले तोकेको समयमा बिपी उद्यान खाली नगरेको भन्दै पुसको जाडो महीनामा उद्यानमा बस्दै आएका २५ दलित परिवारको घरमा डोजर चलाएर खाली गराएको थियो ।
पुसको जाडोमा २५ घरपरिवारका वृद्धवृद्धा, बालबालिका र महिला एउटै छानामुनि बसेर कष्टकर जीवन बिताएका थिए । तर महानगरपालिकाले उनीहरूमाथि दया देखाएन र डोजर लगाएर हटायो । दलित २५ घरमा डोजर लगाएको महानगरले भने अहिलेसम्म त्यहाँ रहेका अन्य अतिक्रमण हटाएको छैन ।
बिपी उद्यानमा अहिले तरकारीका थोक, खुद्रा पसलहरू छन् । यसैगरी, पार्किड्ढो नाममा अहिले सिटीराइड, ईरिक्शा, मोटरसाइकल अनि ग्रामीण क्षेत्रमा सेवा दिने भाडाका बसहरू छन् । यसैगरी, वर्षौंदेखि खुद्रा पसलेहरूको डेरा पनि कायम छ । महानगरले सबै अतिक्रमण खाली गराउन सूचना जारी गरे पनि अहिलेसम्म अन्य अतिक्रमण भने हटाउनै सकेको छैन ।
वडाध्यक्ष तथा अतिक्रमणविरुद्ध महानगरले बनाएको समितिका संयोजक प्रदीप चौरसिया तरकारीका थोक पसलका लागि महानगरले वीरगंज महानगर–४ भगवती राइसमिलमा रहेको नेपाल सरकारको करीब सवा बिघा जग्गामा सटर निर्माण गरिरहेको र सोही स्थानमा तरकारीबजार स्थानान्तरण गर्ने योजना रहेको बताए । उनले त्यसपछि अन्य अतिक्रमण हटाउन पहल हुने
बताए ।
बिपी उद्यानको अतिक्रमण नयाँ होइन । महानगरको नाममा आएपछि सो स्थानमा करीब १५ वर्ष अघि महानगरका तत्कालीन कार्यकारी अधिकृत विष्णु कोइरालाले मीनाबजार सपिङ कम्प्लेक्स निर्माणका लागि त्यहाँ रहेका तरकारी तथा आलु, प्याजका थोक विक्रेतालाई बिपी उद्यानमा स्थानान्तरण गरेका थिए । सोही बखतदेखि बिपी उद्यानमा खुद्रा तरकारीबजार लाग्न शुरू भएको हो ।
मीनाबजार सपिङ कम्प्लेक्स तयार भएपछि बिपी उद्यानमा रहेका तरकारी, आलु, प्याजका थोक र खुद्रा पसलहरू हटाउने र साबिकको मीनाबजारमा राख्ने गरी सहमति भएको थियो । त्यस अघिदेखि बिपी उद्यानमा दलितबस्ती थियो । तत्कालीन नगरप्रमुख विमलप्रसाद श्रीवास्तवको पालामा आदर्शनगरस्थित अन्तर्राष्ट्रिय स्वीमिङपुल निर्माण हुँदा त्यहाँ रहेको दलितबस्तीलाई बिपी उद्यानमा स्थानान्तरण गरिएको थियो ।
दलितहरूको हकमा अहिलेसम्म महानगरले कुनै व्यवस्था गरेको छैन । तर बेलाबखतमा डोजर भने त्यही दलितबस्तीमा चलाउने गर्छ । अहिलेसम्म ६/७ पटक विभिन्न समयमा कार्यालय प्रमुख, नगरप्रमुखहरू फेरिएसँगै दलितबस्तीमा मात्र डोजर चल्दै आएको छ ।
मीनाबजार सपिङ कम्प्लेक्स निर्माण भएपछि केही थोक तथा खुद्रा तरकारी व्यवसायी, आलु–प्याजका कारोबारीहरू स्थानान्तरण भए । तर केही राजनीतिक दलका आडमा अहिलेसम्म हड्ढङ बजार, तरकारीका थोक तथा खुद्रा बजार र अनधिकृत सवारी पार्किड्ढो अतिक्रमण महानगरले हटाउन सकेको छैन । सबै खाले अतिक्रमण बिपी उद्यानबाट हटाउन नसकेको महानगरले दलितहरूलाई मात्र किन निशाना बनाएको यो प्रश्नको उत्तर महानगरसँग छैन ।