पोखरियामा मालपोत र नापी कार्यालय स्थापना, जनताको समय र पैसाको बचत –मन्त्री अधिकारी

प्रस, पोखरिया, १५ फागुन/
पोखरिया नगरपालिकामा बिहीवारदेखि भूमिसुधार तथा मालपोत र मेन्टेनेन्स नापी कार्यालयका सेवा केन्द्र सञ्चालनमा आएका छन् ।
पोखरिया नगरपालिकामा आज भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री बलराम अधिकारीले सेवा केन्द्रका उद्घाटन गरेका थिए । उनले सेवा केन्द्रको स्थापनापछि पोखरिया नपासहित पर्साका सातवटा पालिकाका जनताको लागि सेवा सहज भएको बताए । उनले जिल्लाको मध्यभागमा सेवा केन्द्र स्थापना भएर जनताको समय र पैसा दुवै जोगिने दाबी गरे । मन्त्री अधिकारीले सेवा केन्द्र स्थापनासँगै आवश्यक पर्ने सहयोग र सामग्री स्थानीय तह तथा स्थानीयवासीले गर्नुपर्ने बताए ।

उनले मालपोत र नापीका लागि कार्यालयकै नाममा जग्गा उपलब्ध गराउन सुझाव दिए । मन्त्री अधिकारीले देशमा रहेका सहवासी तथा भूमिहीनहरूको लागि पनि सरकारले जग्गा उपलब्ध गराउने बताए । भूमिहीन तथा सहवासीहरूले सकभर उनीहरूको हकभोगमा रहेका जग्गा नाममा गर्नेगरी विधेयक संसद्मा पेश भएको बताए । उनले देश अहिलेसम्म पुरानो ढाँचाबाट चल्दै आएको र यो कानूनी व्यवस्थाले जनताको समस्या समाधान गर्न नसकेको कारण सरकारले अध्यादेशमार्फत कानून बनाउन खोजेको बताए । उनले अध्यादेशको प्रायोजितरूपमा मात्र विरोध भएको भन्दै सरकारले अध्यादेश पारित गरिछाड्ने दाबी गरे ।

उनले सहकारी ठगी गरेका व्यक्तिहरूलाई कानूनको दायरामा ल्याइ कारबाही गर्ने बताए । उनले केही गलत तŒव देशमा हाबी भएको र सहकारीबाट लिएको ऋण तिर्नुनपर्ने भ्रम छरिरहेकाले सोभ्रममा नपर्न आग्रह गरे । ऋण लिएका जो कोहीबाट पनि ऋण असुल गर्ने र बचत गरेका बचतकर्तालाई फिर्ता हुने विश्वास दिलाए ।

कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले सेवा केन्द्र स्थापनाबाट पायक परेका पालिकालाई यसै कार्यालयबाट सेवा सञ्चालन गरिने तथा अपायक परेका पालिकाहरूलाई वीरगंजबाट सेवा दिने गरी हेरफेर गर्नुपर्ने बताए । उनले अहिलेको सरकार विशेष परिस्थितिमा गठन भएको र गठबन्धन नटुट्ने दाबी गरे । अहिले केही गलत तŒवले सरकार ढल्ने भनेर गरेको हल्लामा सत्यता नभएको र यसखाले हल्लाको पछाडि नपर्न सुझाए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूले चुनावताका गरेको प्रतिबद्धतालाई पूरा गरिरहेको बताए । पोखरियामा नापी र मालपोत कार्यालय ल्याउन आफूले चुनावताका गरेको वाचालाई पूरा गरेको उनले दाबी गरे । यससँगै उनले इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल गरिरहेको गराए । उनले पोखरिया नगरपालिकामा सडक, विद्यालय निमार्णका लागि रु ३५ करोडको योजना दिएको बताए । पोखरिया नगरपालिकामा थप ५० करोडको योजना ल्याउने तयारीमा रहेको बताए ।

कार्यक्रममा मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षत्री, मधेस प्रदेशकै युवा, खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले पनि मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय श्याम पटेल, वीणा शर्मा, पूर्वसांसद विचारी यादव, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी, भूमि व्यवस्था विभागका महानिर्देशक शिवप्रसाद रेग्मी, पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहान, प्रमुख जिल्ला अधिकारी गणेश अर्याललगायतको सहभागिता थियो । कार्यक्रममा स्वागत उपप्रमुख रूबी ठाकुर तथा सञ्चालन अशोककुमार भट्टराईले गरेका थिए ।

पोखरिया नपामा मालपोत र नापी कार्यालयका सेवा केन्द्र स्थापना भएपछि यो कार्यालयबाट पोखरिया नपासमेत धोबिनी, विन्ध्यवासिनी, छिपहरमाई, कालिकामाई, जगरनाथपुर र पकाहामैनपुर गापा गरी सातवटा पालिकाका जनताले सो सेवा केन्द्रबाट सेवा पाउने भएका छन् । पोखरियामा सेवा केन्द्र स्थापना हुने भएपछि यही फागुन १२ गतेदेखि सातवटा पालिकाका सेवाहरू वीरगंजबाट बन्द गरिएको सूचना सम्बन्धित कार्यालयले जारी गरिसकेका छन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्