कलश क्याटल फार्मिङ प्रालिका गाईमा सुधार हुँदै

प्रस, वीरगंज, १५ फागुन/
ठोरी गाउँपालिका–५ सुवर्णपुरमा रहेको कलश क्याटल फार्मिङ प्रालिको विवाद सहमतिमा टुङ्गिएपछि अहिले त्यहाँ रहेका गाई र बाछाबाछीको उपचारलगायतका उद्धार कार्य जारी छ ।

ठोरी गापा कार्यालय घ्याङडाँडामा फागुन ११ गते आइतवार बसेको सर्वपक्षीय बैठकले तत्काल फार्ममा रहेका गाईहरूको आहारा व्यवस्थापन, बिजुलीको बक्यौता चुक्ता, कर्मचारीहरूको तलब र किसानहरूको बाँकी बक्यौता तिर्नका लागि सञ्चालकहरूलाई तत्काल रु ३० लाख जम्मा गर्न भनेको र हालका लागि फार्मको रेखदेख पूर्वअध्यक्ष श्यामवदन यादवलाई हेर्नेगरी जिम्मेवारी सुम्पेको थियो । जिम्मेवारी पाएपछि यादवले सोही दिनदेखि फार्ममा रहेका गाईहरूको उपचार, उद्धार कार्यमा सक्रियता बढाएको बताइन्छ ।

यादवको पहलमा सोमवारदेखि फार्ममा रहेका अस्वस्थ गाईहरूको चिकित्सकद्वारा उपचार शुरू गरिएको छ । गाईलाई आहारा पनि दिन शुरू भएको छ । फार्ममा रहेका गाईहरूले छ महीनादेखि आहारा नपाएको र भुसाको भरमा रहेको कारण गाईहरूको स्वास्थ्य अवस्था बिग्रन पुगेको थियो । मुख्यमन्त्री सतीशकुमार सिंहले फार्ममा रहेका गाईहरूको तत्काल उपचारका लागि निर्देशन दिएपछि फागुन ९ गते पर्साबाट पशुविज्ञहरूको टोली पुगेको थियो । तर फागुन ११ गते गापामा सञ्चालकहरूबीच गाई व्यवस्थापनको कुरामा सहमति भएपछि पशुविज्ञहरूको टोली फेरि त्यहाँ पुगेको छैन र सञ्चालक यादवले पशु चिकित्सकद्वारा उपचार शुरू गराएका छन् ।

अहिले कलश क्याटल फार्मिङ प्रालिमा १४४ वटा गाई, ५८ वटा बाछाबाछी र दुईवटा साढे छन् । १० वटा गाई आहाराविना गम्भीर अस्वस्थ रहेकामा उपचारपछि केही सुधार आएको बताइन्छ । त्यहाँ रहेका गाईहरू पूर्णरूपमा स्वस्थ हुनका लागि एक महीनाभन्दा बढी समय लाग्न सक्ने सञ्चालक यादव बताउँछन् । आहारा नपुगेर गाईहरू दुहुनेलायक छैनन् । चार दिनदेखि बिस्तारै आहारा दिन थालिएको र पूर्ण आहाराका लागि अझै दुई साता समय लाग्ने बताइन्छ । प्रतिगाईको आहारा (दाना) तीन किलो मापन गरिएको तर विगत छ महीनादेखि आहाराविना रहेकाले गाईहरूलाई एकैपटक आहारा नदिन पशु चिकित्सकले सुझाएका छन् । अहिले प्रतिगाईलाई एक किलो आहारा दिन शुरू गरिएको र बिस्तारै तीन किलो पु¥याउने सञ्चालक यादवले बताए ।

फार्ममा रहेका गाईहरूको उपचार शुरू भएपनि अहिले तीनवटा गाई र तीनवटा बाछाबाछी अस्वस्थ अवस्थामा छन् । अन्य गाईहरू आहाराविना कमजोर भएकामा आहारा दिन शुरू भएपछि स्वास्थ्य अवस्थामा सुधार भएको बताइन्छ । दैनिक १५ सय लिटर दूध उत्पादन हुने फार्मबाट अहिले आहारा दिन शुरू गरिएपछि २०–२५ लिटर दूध उत्पादन भइरहेको छ । ३० वटा गाई दूध दिनै नसक्ने गरी थलिएका छन् । उनीहरूको चारवटै थुन सुकिसकेको पशु चिकित्सकले बताए । अन्य ३० वटा गाईका एक/दुई थुन सुकेको र उनीहरूको उपचार जारी रहेको छ । फार्ममा रहेको गाईहरूको थुनमा मेशीन लगाएर दूध निकाल्ने गरिन्थ्यो तर अहिले सो अवस्था छैन र अहिले मानिस लगाएर दूध दुहुने कार्य भइरहेको छ । मेशीन पनि बिग्रिएको र त्यसको मर्मतसम्भारमा लाखौं खर्च लाग्ने सञ्चालक यादवले बताए । यो फार्ममा बैंकको ३४ करोड लगानी छ भने तीनजना सञ्चालक यादव, ईश्वरलाल जोशी र गुरु भट्टको २४ करोड लगानी छ । गाईको बीमा नवीकरण गरिएको छैन, जसले गर्दा अहिलेसम्मको क्षति स्वयम् सञ्चालकहरूले बेहोर्नुपर्ने देखिन्छ ।

कुल १५७ करोड बजेट अनुमान गरिएको यो फार्ममा पछिल्लो समय चालू पूँजीको अभाव भएको र बैंकले थप ऋण प्रवाह नगर्दा समस्याग्रस्त भएको सञ्चालक यादवले बताए । नेपालकै सबैभन्दा ठूलो गाई फार्म समस्याग्रस्त भएपछि गापाले सर्वपक्षीय बैठक
गरी तीनैजना सञ्चालकलाई तत्काल फार्म सञ्चालनका लागि रु ३० लाख व्यवस्थापन गर्न निर्देशन दिएको थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्