३५ सयको लागि साथीको हत्या, तीनजना पक्राउ

प्रस, वीरगंज, १५ फागुन/
वीरगंज महानगरपालिका–२७ उदयपुरघुर्मी निवासी २० वर्षीय विशाल पटेलको हत्या जुवामा ३५ सय बाँकी नतिर्दा भएको खुलासा भएको छ ।

स्थानीयवासीले बुझ्दा घटनामा पटेलको हत्या जुवा खेल्ने क्रममा साथीहरूलाई ३५ सय तिर्न नसक्दा विवाद भएको र सोही विवादमा उनको हत्या भएको बताएका छन् ।

यसबारेमा बिहीवार जिल्ला प्रहरी कार्यालय, पर्साले पत्रकार सम्मेलन गरी आपसी लेनदेनको विषयमा विवाद भएको र पटेलको हत्या तीनजना साथीले गरेको जानकारी गराएको छ । प्रहरी उपरीक्षक गौतम मिश्रले आपसी लेनदेनको विषयमा विवाद भएको र स्थानीय १९ वर्र्षीय मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारीले हत्या गरी भेडाहा खोलामा फ्याकेको बताए । उनले जुवा खेल्ने क्रममा भएको विवादमा रु ३५ सय बाँकी रहेको विषयमा तीनजना साथीले दक्षिण भारतको सिनेमा हेरेर सोही अनुसार उखुले हिर्काएर हत्या गरेको र तीनैजना पक्राउ परिसकेको बताए ।

घटना एक साता अघिको हो र पटेल खोलामा मृत फेला परेपछि यसबारेमा अनुसन्धान गर्दा तीनजना अभियुक्त देखिएको उनले बताए । उनले घटनाबारेमा प्रहरीले आठजनालाई शङ्काको आधारमा नियन्त्रणमा लिएको र हत्यामा संलग्न तीनजना रहेको पाइएपछि बाँकीलाई रिहा गरिएको बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्