जिल्लाभरिका शिवालयमा पूजा गर्नेहरूको घुइँचो, ब्रह्मकुमारी राजयोगले शिवजयन्ती मनायो

प्रस, वीरगंज, १४ फागुन/
शिवरात्रिको अवसरमा पर्सा जिल्लाको ऐतिहासिक तथा धार्मिक आस्था बोकेको जीराभवानी मन्दिरमा बुधवारदेखि सप्ताहव्यापी मेला शुरू भएको छ ।

जीराभवानी गापा–१ र २ को दोसाँधमा रहेको जीराभवानी मन्दिरले ग्रामीण भेगका थारूलगायत अन्य समुदायबीच व्यापारिक, सामाजिक तथा अन्य पक्षबीच एकात्मकताको भूमिका खेल्दै आएको छ । प्राचीन किंवदन्ती अनुसार मन्दिरको उत्पत्ति झन्डै ४०० वर्षभन्दा पहिले भएको थियो ।

जीराभवानी मन्दिर स्थापनापछि यस क्षेत्रमा आइपर्ने सङ्कटबाट जीराभवानीमाईले जोगाउँदै आएको जनविश्वास छ । मन्दिरमा नेपालका विभिन्न जिल्ला तथा भारतका बिहार र उत्तर प्रदेशबाट मेला भर्न भक्तजनहरू आएका छन् । पर्साका ग्रामीण किसानहरूले मुख्यबाली धानको बालाको मुठा बनाइ जीराभवानी मन्दिरमा महाशिवरात्रि मेलामैं अर्पण गर्ने परम्परा रहेको छ ।

यसैगरी, वीरगंज महानगरपालिकाका विभिन्न शिवालयहरूमा पनि शिवरात्रिको पूजा भव्यरूपमा गरिएको छ । अलखियामठ मन्दिर, पशुपतिनाथ मन्दिर, राधेमाई र अजगैबीनाथ मन्दिरहरूमा बिहानैदेखि पूजा गर्न भक्तजनहरूको भीड लागेको थियो । पर्सा जिल्लाका १४ वटै पालिकाका शिवालयहरूमा महाशिवरात्रिको दिन आज शिवालयहरूमा भक्तजनहरूको भीड लागेको थियो । बेलपत्र, धतुरो, भाङ चढाइएको थियो । वीरगंज महानगरका विभिन्न स्थानमा महाशिवरात्रिको अवसरमा साँझ शिवधुनी बालिएको थियो । तराई–मधेसमा महाशिवरात्रिको धुनी बालेपछि यस वर्षको जाडोले बिदा लिने बुझाइ छ । त्यसैले आजदेखि जाडो कम हुने र गर्मी बढ्दै जाने जनविश्वास छ ।

यसैगरी, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र छपकैयाको आयोजनामा बुधवार ८९औं त्रिमूर्ति शिवजयन्ती मनाइएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य श्याम पटेलले शिवध्वजारोहण गरेर जयन्तीको उद्घाटन गरेका थिए ।

शिवजयन्तीको अवसरमा आयोजित ‘वर्तमान समयमा महाशिवरात्रिको अद्वितीय महŒव’ विषयक आध्यात्मिक प्रवचनका बारेमा मुख्य सञ्चालिका रविणा दिदीले भगवान् शिव धर्तीमा अवतरित भएको ८८ वर्ष पूरा भई ८९ वर्ष प्रवेश गरेको हुँदा आज महाशिवरात्रिको अवसरमा ८९औं त्रिमूर्ति शिवजयन्ती मनाइएको बताइन् ।

उनले शङ्कर–पार्वती र सर्वात्माहरूका पिता एउटै परमात्मा शिव हुन् भन्ने उद्देश्यका साथ ८९औं शिवजयन्ती मनाइएको बताइन् । कार्यक्रममा मधेस विश्वविद्यालयमा उपकुलपति प्राडा दीपक शाक्य, नेरेसो पर्साकी उपाध्यक्ष मधु राणा, सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्याँसुद्दीन ठकुराई, कुम्हालटोलका सचिव श्रवण रायमाझी, नर्सिङ क्याम्पस वीरगंजकी प्रमुख कल्पना पौडेललगायतको सहभागिता थियो । कार्यक्रममा बेली दिदीले स्वागत र गोवद्र्धन चौधरीले सहजीकरण गरेका थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्