प्रस, वीरगंज, १४ फागुन/
नवौं प्याब्सन अन्तरविद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिताको उपाधि मूनलाइट माविले जितेको छ । टिबी शाह क्रिकेट मैदान वीरगंजमा बुधवार भएको फाइनल खेलमा विद्यासागर माविलाई १७ रनअन्तरले पराजित गर्दै मूनलाइटले उपाधि जितेको प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले बताए । टस जितेर पहिला ब्याटिङ गरेको मूनलाइटले निर्धारित २० ओभरको खेलमा १७.४ ओभर खेल्दै सबै विकेटको नोक्सानीमा ११३ रन बनाएको थियो ।
११४ रनको जीतको लक्ष्यसहित मैदानमा उत्रेको विद्यासागरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एवं सांसद वीरेन्द्र महतोले विजेता, उपविजेता र तृतीय भएका क्रमशः मूनलाइट माविलाई नगद १५ हजार, विद्यासागरलाई १० हजार र साउथजोनलाई पाँच हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा ‘प्लेयर अफ द म्याच’, उत्कृष्ट बलर र उत्कृष्ट खेलाडी गरी तीन विधा सेराज हवारीले जिते । उत्कृष्ट फिल्डर दिलरञ्जन यादव र उत्कृष्ट कीपर अनुप कुँवर भए भने जुनैद आलम ‘इमर्जिङ प्लेयर’ घोषित भए ।
प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको अध्यक्षतामा भएको समापन समारोहमा मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्य, मधेस प्रदेशका नीति तथा योजना आयोगका सदस्य डा हरिशङ्कर साह, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, इमामुद्दीन मियाँ, पूर्वकेस प्रकाश उपाध्याय, जिल्ला शिक्षा समन्वय एकाइ पर्साका प्रमुख मोतीप्रसाद भट्टराई, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, मूनलाइट माविका श्याम केसी, सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्याँसुद्दीन ठकुराई, मानवसेवा आश्रमका देवेश मानवसेवालगायतको सहभागिता थियो ।