प्रस, वीरगंज, १४ फागुन/
नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग एवं मधेस प्रहरी कार्यालय जनकपुरधामद्वारा हिजो अपराध अनुसन्धानसम्बन्धी समस्या र समाधान विषयक प्रदेशस्तरीय समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले गोष्ठीको उद्घाटन गरेका थिए । उनले अपराध अनुसन्धान पद्धतिलाई गुणस्तरीय, प्रभावकारी र परिणाममुखी बनाउन आधुनिक प्रविधिकोे उपयोग गर्नुपर्ने कुरामा जोड दिए ।
उनले अपराध अनुसन्धानको सूक्ष्मता, सघनता, तीव्रता र तटस्थताबाट मात्र सही न्याय निरूपणका लागि ठोस तथा निश्चयात्मक आधार तय हुने हुँदा प्रहरीले अनुसन्धान पद्धतिलाई आवश्यकता अनुसार वैज्ञानिक बनाउँदै जानुपर्ने सुझाए ।
उनले समयक्रमसँगै अपराधका प्रकृतिमा बदलाव आएको र यसले अनुसन्धान कार्यलाई पनि जटिल बनाएको हुँदा अनुसन्धानमा उपलब्ध प्रविधिको उपयोगबाट सही विश्लेषण प्राप्त हुनेगरी प्रहरी जनशक्तिलाई दक्ष बनाउन आग्रह पनि गरे ।
मुख्यमन्त्री सिंहले अनुसन्धानका क्रममा निर्दोष व्यक्तिले सजाय र दोषीले उन्मुक्ति नपाऊन् भन्नेतर्फ प्रहरी सजग, सतर्क हुनैपर्ने बताए । उनले अपराध अनुसन्धानका लागि कानूनद्वारा निर्धारित नेपाल प्रहरीलाई थप सशक्त बनाउनुपर्ने बताए । उनले प्रदेश सरकार प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन प्रतिबद्ध रहेको बताए ।
शान्तिसुरक्षा कायम गर्न नेपाल प्रहरीको निर्धारित भूमिकालाई अझ बलियो, विस्तारित र सक्षम बनाउन प्रदेश सरकारको संवैधानिक दायित्व भएको बताए । उनले मधेस प्रदेशका आठवटै जिल्लामा भइरहेका अपराध अनुसन्धान प्रक्रियाका बारेमा गहन विमर्श गरी विद्यमान कमीकमजोरी हटाउन मजबूत प्रयास हुुनुपर्ने बताए ।