पार्टीमा अवसरवाद हाबी –नेता पोखरेल

प्रस, वीरगंज, १४ फागुन/
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक दलभित्र योगदान कम र अवसरको खोजी बढ्दै गएको बताएका छन् ।

एमाले उद्योग–व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधवार काठमाडौंमा भएको जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नेता पोखरेलले दलभित्र योगदान कम र अवसरको खोजी बढ्दै गएकाले अवसरवाद जन्मिएर असन्तुष्टि बढेको बताए । उनले असन्तुष्टिले अराजकता बढाउँछ, अवसरवाद र अराजकता राजनीतिक आन्दोलनका बाधक हुन्, यी दुई कुरालाई परास्त नगरी अघि बढ्न नसकिने बताए । उनले अवसरवादलाई परास्त गर्न विचारलाई बलियो बनाउनुपर्ने बताउँदै अवसरवादलाई परास्त गर्न वैचारिक र राजनीतिक आन्दोलनलाई अघि बढाउन सुझाए ।

उनले कुनै पनि सङ्गठन एकताबद्ध र अनुशासित भएन भने उसले उपलब्धि प्राप्त गर्न नसक्ने बताए । कुनै पनि उद्देश्यको लागि साङ्गठनिक शक्ति आवश्यक पर्ने भन्दै नेता पोखरेलले विचारले मात्रै हुँदैन, विचारलाई सङ्गठनमा बदल्नुपर्छ, सङ्गठनलाई उद्देश्यमा बदल्नुपर्ने बताए । नेपालमा काम जति नपढेका मानिसलाई लगाउने र पढेका मानिसहरू ठालु पल्टने संस्कार विकास भएको बताउँदै नेता पोखरेले भने– काम जति नपढेका मान्छेलाई लगाउने, पढेका जति ठालु पल्टने कारणले हाम्रो देश बनेन भन्ने कुराको पुष्टि गर्छ ।

कुनै पनि देश छिटो विकास हुनको लागि स्वास्थ्य र शिक्षामा विकास गर्नुपर्ने उनले बताए । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्र निकै कमजोर रहेको भन्दै उनले स्वास्थ्य र शिक्षामा जोड दिनुपर्ने सुझाए । प्रविधि र आधुनिक यन्त्रको प्रयोग गरी देशमा उत्पादन बढाउनुपर्ने नेता पोखरेलको भनाइ थियो । भूगोल सुहाउँदो प्रविधि र यन्त्र उपकरण उत्पादन र प्रयोगले देशले तीव्र विकास हासिल गर्ने उनले बताए । सरकार फेरबदल भइरहने कुराले जुन रूपमा नेपाल अघि बढ्नुपर्ने हो, त्यो हिसाबले अघि बढ्न नसकेको उनको भनाइ थियो ।

पूँजी निर्माणविना राष्ट्रिय पूँजी नबन्ने बताउँदै उनले नेपालीले बचत संस्कृति विकास गर्नुपर्ने बताए । नेपालीको बचत संस्कृति अति कमजोर भएको उनको बुझाइ छ ।

उनले राज्यलाई कर तिर्ने बानी नेपालीको अति कमजोर भएको बताउँदै कर तिर्नेभन्दा कर नतिर्नेको जमात बढेको र यसले कर नतिर्ने संस्कृति बढ्दै गएको बताए ।

विदेशबाट आएको ऋण र अनुदानको पनि उचित सदुपयोग हुन नसकेको भन्दै विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत भएको तर्क गरे । देश आर्थिकरूपमा कमजोर र सामाजिकरूपमा अराजक बन्दै गएको कारण समस्यामा पर्न लागेकोले अहिले देशका ठूला दुई राजनीतिक दल मिलेर सरकार बनाएको उनले बताए ।

नेपालमा साना पार्टीले ठूला पार्टीलाई घुक्र्याएर शासन गर्ने गलत संस्कार शुरू भएको र म अरूको सहयोगमा प्रधानमन्त्री बनेको हुँ भन्ने कुरालाई समेत बिर्सिएर ठूला दलमाथि माओवादीले शासन गर्न शुरू गरेपछि दुई दल मिलेको उनले प्रस्टीकरण दिए । हामी मिल्नु भनेको शासन गर्नको लागि मात्र होइन, अहिले सङ्कटग्रस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउने, सुशासन कायम गर्ने र जनतामा बढ्दै गएको निराशालाई चिर्नको लागि मिलेका हौं उनले भने ।

सरकारले ल्याएको अहिलेको अध्यादेश औचित्यको आधारमा ल्याएको दाबी गरे । सरकार अध्यादेश ल्याउन मात्र होइन नयाँ कानून बनाउन पनि केन्द्रित रहेको नेता पोखरेलले बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्