प्रस, वीरगंज, १२ फागुन/
नारायणी अस्पताल, वीरगंजमा स्वास्थ्य बीमा गरेका बिरामीहरूले सहजरूपमा औषधि पाउने गरेका छैनन् ।
अस्पतालले पछिल्ला समयमा स्वास्थ्य बीमा अन्तर्गत औषधि वितरणमा कडाइ गरेपछि अहिले स्वास्थ्य बीमा गर्नेहरूले सहजरूपमा औषधि नपाएका हुन् । अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पछिल्लो भनाइबाट स्वास्थ्य बीमाको भुक्तानी अन्योलमा परेकोले अस्पतालले औषधिलगायत स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका सेवाहरूमा कडाइ गरेको बताए ।
उनले नारायणी अस्पतालले विगत १० महीनामा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका सेवाहरू प्रदान गरेबापत सरकारसँग रु ११ करोड लिन बाँकी छ । यो अवस्थामा हालै स्वास्थ्यमन्त्रीले स्वास्थ्य बीमाको भुक्तानी गर्न नसकिने खालको अभिव्यक्ति दिएपछि अस्पतालले औषधि खरीद गर्न नसकेको बताए । उनले मौज्दात औषधिबाट सेवाप्रवाह गर्नुपरेको र त्यसपछि झनै अन्योलता बढ्ने बताए ।
उनले औषधि सेवा हालका दिनमा बिरामीहरूलाई तीन महीनासम्मको आपूर्ति गर्दै आएको तर अस्पतालको बैठक बसी आगामी दिनमा बढीमा सात दिनसम्मको औषधि मात्र उपलब्ध गराउने निर्णय भएको बताए । सूचना अधिकारी डा सिंहले स्वास्थ्य बीमाबाट औषधि नपाउने हल्ला चलेसँगै अस्पतालमा बिरामीहरूको चाप बढेको बताए । दैनिक साढे चार सयजनाले सेवा लिंदै आएकामा अहिले यो सङ्ख्यामा वृद्धि भएको छ ।
अस्पतालले औषधिलगायत अस्पतालबाट प्रदान गरिने विभिन्न सेवाहरूमा स्वास्थ्य बीमाका बिरामीहरूलाई निर्धारित मापदण्ड अनुसारको सेवा प्रदान गर्दै आएको थियो । सरकारले गत वर्ष स्वास्थ्य बीमा गर्नेहरूसँग सरकारी अस्पतालमा सेवा लिंदा लाग्ने शुल्कको १० प्रतिशत बुझाएर स्वास्थ्य बीमाको लाभ लिन सक्ने व्यवस्था गरेको थियो भने तोकिएका निजी अस्पतालहरूबाट सेवा लिंदा २० प्रतिशत तिर्नुपर्ने प्रावधान राखेको थियो ।
हालको सरकारले स्वास्थ्य बीमा गर्नेहरूलाई पाँच लाखसम्मको जोखिम बेहोर्ने चर्चा बाहिर ल्याइरहेको अवस्थामा अहिले स्वास्थ्य बीमाको बक्यौता अस्पतालहरूलाई सरकारले तिर्न नसक्ने स्वास्थ्यमन्त्रीको भनाइ बाहिर आएसँगै देशभरि स्वास्थ्य बीमा गराउनेहरू सेवाबाट वञ्चित भइरहेका छन् ।
प्रादेशिक अस्पताल पोखरियाले मन्त्रीको कुरा बाहिर आएसँगै औषधि खरीदको प्रक्रिया स्थगन गरेको छ । ठेकेदारलाई सप्लाई अनुसारको रकम भुक्तानीमा समस्या आउन सक्ने कुरालाई मध्यनजर गर्दै प्रादेशिक अस्पताल पोखरियाले औषधि खरीद प्रक्रिया तत्कालका लागि स्थगन गरेको एकजना चिकित्सकले बताए । यो अस्पतालबाट पछिल्लो समय स्वास्थ्य बीमा गरेका बिरामीहरूले चिकित्सकको परामर्श अनुसारको औषधि भने पाएका थिएनन् । औषधि सेवा सहज पार्ने कार्य अघि बढेको बेला मन्त्रीको अभिव्यक्तिले खरीद प्रक्रिया स्थगन गरिएको हो ।
प्रादेशिक अस्पताल कलैयामा पनि स्वास्थ्य बीमा गराएका बिरामीहरूलाई औषधि पाउन समस्या भएको छ । शुरूदेखि थोरै मात्र औषधि पाउने यहाँका बिरामीहरूले अहिले सोही परिमाणमा पनि औषधि पाइरहेका छैनन् । तीन महीनासम्मको औषधि दिने गरिएकामा अहिले दीर्घरोगीहरूलाई एक महीनासम्मको औषधि दिने गरिएको अस्पतालले जनाएको छ । स्वास्थ्य बीमाबापत यो अस्पतालले सरकारबाट दुई करोड भुक्तानी पाउन बाँकी रहेको छ ।