प्रस, वीरगंज, १३ फागुन/
ऊर्जा मन्त्रालयले उद्योगीहरूको पक्ष लिएर नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसूल बक्यौता नउठाउन पटकपटक ताकेता गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी परेको छ ।
समृद्धिका लागि सुशासन अभियान नामक संस्थाका तर्फबाट संस्थाका संयोजक पवित्रमणि शर्माले ऊर्जा मन्त्रालयले विद्युत् नियमन आयोग र आयोगले नेपाल विद्युत् प्राधिकरणलाई पटकपटक काटेको पत्रसहित उजूरी गरेका हुन् ।
ऊर्जा मन्त्रालय, विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरणबीच लामो समयदेखि चलिरहेको विद्युत् महसूलसम्बन्धी विवादको विषयमा अख्तियार जानकार छ । विद्युत् प्राधिकरणको काम विद्युत् महसूल उठाउने हो । विद्युत् महसूल नउठाउन भन्दै ऊर्जा मन्त्रालयबाट निर्देशन तथा छानबीन आयोग निर्माण गरी महसूल उठाउन रोक लगाइएको भन्दै समृद्धिका लागि सुशासन अभियान संस्थाले अख्तियारमा मङ्गलवार उजूरी दर्ता गरेको हो ।
आवश्यक अनुसन्धान गरी कारबाहीको माग गर्दै आज दर्ता भएको उक्त उजूरीमा पछिल्लो समय विद्युत् नियमन आयोगलाई हतियार बनाएर पटकपटक विद्युत् प्राधिकरणलाई निर्देशन दिने काम भएको देखिन्छ । विद्युत् नियमन आयोगले पनि महसूल बक्यौता रकमको पाँच प्रतिशतको दरले हुन आउने रकम शुल्कबापत लिई प्राधिकरणलाई पत्र लेख्नुपर्ने प्रावधानविपरीत विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले उद्योगीसँगको स्वार्थमा पटकपटक पत्राचार गरेको देखिन्छ । तसर्थ यसरी अनियमितता गर्ने ऊर्जामन्त्री दीपक खड्का, विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, ऊर्जा सचिव सुरेश आचार्य लगायतलाई छानबीन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ ।