धर्मेन्द्र चौरसिया, पोखरिया, १३ फागुन/
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, बिर्ताको आयोजनामा शिव सन्देश शान्ति पदयात्रा सम्पन्न भएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, बिर्ताबाट मङ्गलवार ¥याली निकाली घण्टाघर परिक्रमा गरी छपकैयास्थित विश्व दर्शन भवन सेवा केन्द्र पुगी समापन भएको थियो ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजकी मुख्य सञ्चालिका रविणा दिदीको नेतृत्वमा निस्केको शान्ति पदयात्राको शुभारम्भ वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवालले गरेका थिए । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका विके गोकुल गुभाजुले देशमा शान्ति, सद्भाव र एकता कायम होस् भन्ने उद्देश्यले शिवरात्रिको पूर्वसन्ध्यामा आज शान्ति पदयात्रा आयोजना गरिएको बताए ।
भगवान् शिव धर्तीमा अवतरित भएको ८८ वर्ष पूरा भई ८९ वर्ष प्रवेश गरेको ८९औं वर्षको अवसरमा शान्ति पदयात्रा निकालिएको उनले बताए ।
शङ्कर–पार्वती र सर्वात्माहरूका पिता एउटै परमात्मा शिव हुन् भन्ने सन्देश बोकेको झाँकीसहित पदयात्रा सम्पन्न भएको थियो ।
भोलि शिवरात्रिको अवसरमा बिहानैदेखि विश्वदर्शन भवन छपकैयामा शिवरात्रिसम्बन्धी अध्यात्म प्रवचन तथा शिव ध्वजारोहण गरिने उनले जानकारी गराए । कार्यक्रममा वडाध्यक्ष जगतसाह कानू, सामाजिक अभियन्ता प्रकाश थारूलगायतको सहभागिता थियो ।
यसैबीच, भोलि शिवरात्रिको अवसरमा पर्सा जिल्लाको ऐतिहासिक तथा धार्मिक आस्था बोकेको जीराभवानी मन्दिरमा सप्ताहव्यापी मेला लाग्दैछ ।
जीराभवानी गापा–१ र २ को दोसाँधमा रहेको जीराभवानी मन्दिरले ग्रामीण भेगका थारूलगायत अन्य समुदायबीच व्यापारिक, सामाजिक तथा अन्य पक्षबीच एकात्मकताको भूमिका खेल्दै आएको छ । प्राचीन किंवदन्ती अनुसार मन्दिरको उत्पत्ति झन्डै ४०० वर्षभन्दा पहिले भएको थियो ।
जीराभवानी मन्दिर स्थापनापछि यस क्षेत्रमा आइपर्ने सङ्कटबाट जीराभवानीमाईले जोगाउँदै आएको जनविश्वास छ । मन्दिरमा वर्षैभरि नेपालका विभिन्न जिल्ला तथा भारतका बिहार र उत्तर प्रदेशबाट मेला भर्न भक्तजनहरू आउने गर्छन् । पर्साका ग्रामीण किसानहरूले मुख्यबाली धानको बालाको मुठा बनाइ जीराभवानी मन्दिरमा महाशिवरात्रि मेलामैं अर्पण गर्ने परम्परा चलिआएको छ ।
मन्दिरमा वर्षैभरि पूजा–अर्चना हुँदै आए पनि साताव्यापी मेलाको शिवरात्रिको दिन ठूलो भीड लाग्छ । मेलाबाट स्थानीय किसानहरूलाई आवश्यक कृषि तथा अन्य सामग्रीको आपूर्ति हुने गरेको छ । मेलामा कृषि औजार, घरेलु हतियार, भाँडाकुँडाहरूको राम्रो खरीद–बिक्री हुन्छ ।
यसैगरी, पर्सा जिल्लाका १४ वटै पालिकाका शिवालयहरूमा शिवरात्रिको तयारी सम्पन्न भएको छ । महानगरका अलखियामठ, अजगैबीनाथ, राधेमाई, नगवा, पशुपतिनाथ मन्दिरलगायत शिवालयहरूमा शिवरात्रिको तयारी धूमधामले गरिएको छ ।