प्रस, रौतहट, १२ फागुन/
प्रादेशिक अस्पताल गौरबाट निजी अस्पतालमा रेफर गरिएका एक रोगीको मृत्यु भएको छ । गौर नगरपालिका–३ का १८ वर्षीय लालु अधिकारीको पेट दुखेर गौरस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि शनिवार भर्ना गरिएको थियो ।
काका देवेन्द्र अधिकारीले लालुलाई पेट दुखेर उपचारका लागि शनिवार प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको तर प्रारम्भिक परीक्षणपछि अस्पतालका डा घनश्याम ठाकुरले आन्द्रा फुटेको र उपचारका लागि आवश्यक सुविधा नभएको भन्दै उनले सेन्टर अस्पताल गौरमा डा पङ्कज साहसँग सम्पर्क गर्न सुझाएको बताए ।
डा साहसँग सम्पर्क गरेपछि उनले भतिजा लालुको आन्द्राको शल्यक्रिया गरेको बताए । शल्यक्रिया गरेको केही बेरमैं भतिजा लालुको अवस्था गम्भीर भएको र त्यहाँबाट वीरगंजस्थित नेशनल मेडिकल कलेजमा ल्याउँदा कलेजका चिकित्सकले मृत घोषित गरेको बताए ।
उनले शनिवार राति ११ बजे भतिजा लालुलाई कलेजका चिकित्सकले मृत घोषित गरेको र त्यसपछि शल्यक्रियामा संलग्न सेन्टर अस्पताल गौरका डा फिरोज अन्जुम, डा पङ्कज साहसहितको टीम सम्पर्कविहीन भएको बताए ।
उनले प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि त्यहाँको चिकित्सकले निजी अस्पतालमा रेफर गर्नु निजी अस्पतालका चिकित्सकले शल्यक्रिया बिगार्नु र मृत घोषित भएपछि शल्यक्रियामा संलग्न चिकित्सक, प्राविधिकहरू भाग्नुले शङ्का उत्पन्न भएको बताए । उनले भतिजाको मृत्यु चिकित्सकको लापरवाहीका कारण भएको भन्दै घटनामा संलग्नहरूलाई कानूनी कारबाई हुनुपर्ने माग गरे ।
प्रादेशिक अस्पताल गौरका मेसु डा मुरारी ठाकुरले उपचार सम्भव नभएपछि प्रादेशिक अस्पतालबाट नारायणी अस्पताल रेफर गर्नुपर्नेमा निजी अस्पतालमा पठाइनु अनुसन्धानको विषय भएको बताए । मृतक लालुको शव राखेर हिजो प्रादेशिक अस्पताल गौर र सेन्टर अस्पताल गौरमा प्रदर्शन गरिएको थियो । अस्पतालका मेसु ठाकुरले घटना सम्बन्धमा छानबीन गरी दोषीलाई कारबाही गर्ने आश्वासनमा पीडित पक्षले शव बुझेर दाहसंस्कार गरेको थियो ।