लाही कीराबाट गहुँ, तोरी र हरिया तरकारीखेती प्रभावित

धर्मेन्द्र चौरसिया, पोखरिया, ११ फागुन/
पर्सा जिल्लाका किसानहरू लाही कीराको प्रकोपबाट पीडित भएका छन् ।

जाडोयाम बितिसक्दा पनि पानी नपरेकोले किसानहरूले लगाएका गहुँ, तोरी र हरिया तरकारी खेतीहरूमा लाहीको प्रकोप बढेको हो । कालिकामाई गाउँपालिका–५ का किसान महेन्द्र पटेलले लाही कीराविरुद्ध औषधि छरिएको तर प्रकोप कम नभएको बताए । उनले गहुँ, तोरी र हरिया तरकारी खेती गरेका किसानहरू मुख्यरूपमा पीडित भएको बताए ।

कालिकामाई गापा कृषि शाखाका सहायक सुदीप चौरसियाले लाही कीरा छोटो अवधिमा ठूलो सङ्ख्यामा वृद्धि हुने भएकाले अहिले बालीहरूलाई क्षति पुगेको बताए । उनले लाही कीरालाई व्यवस्थापन गर्नका लागि किसानहरूले सन्तुलित मलखादको प्रयोग गर्नुपर्ने, बढी नाइट्रोजनयुक्त मलखादको प्रयोग गर्दा पात कलिला भएर लाही कीराको प्रकोप बढ्न सक्ने हुँदा सचेत हुन आग्रह गरे ।

यसैगरी, उनले उमेर पुगेका र कडा खालका बिरुवामा पानीको फोहोराबाट पनि लाही कीरा नियन्त्रण हुने बताए । यसका साथै नीमजन्य विषादी एजाडिरेक्टिन १५०० पिपिएममा २.५ प्रतिलिटर पानी मिसाएर सातामा दुई/तीन पटकसम्म बिरुवामा छर्न सुझाए । साथै लाही कीरालाई साबुनपानीको झोल, एक भाग खरानी र सोको अनुपातमा चार भाग पानी मिश्रण गरी १२ घण्टापछि छानेर त्यसमा प्रतिलिटर १० ग्राम साबुन मिसाएर छर्न पनि सुझाए । यसका अलावा गाईको पिसाबमा एक भाग बराबर पाँच भाग पानी मिसाएर छर्दा पनि लाहीको प्रकोप नियन्त्रण हुने बताए । लाही कीराको कारण तोरीको उत्पादनमा ¥हास आउने उनले बताए ।

लाहीले तोरीको बाला उत्पादनमा असर पार्ने उनको भनाइ छ । यसैगरी, गहुँ र हरिया तरकारीलाई लाहीले कालो पार्ने हुँदा किसानहरूलाई उपलब्ध सुविधा अनुसारको उपचार विधि अवलम्बन गर्न सुझाएका छन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्