प्रस, निजगढ, ११ फागुन/
बकैया खोलाबाट अवैधरूपमा ढुङ्गा निकाली निजगढ नगरपालिका–४ कछडिया बस्ती आसपासमा थुपारिएका ढुङ्गाको निजगढ नगरपालिकाले दोस्रोपटक ठेक्का आह्वान गरे पनि ठेक्का लाग्न सकेको छैन ।
निजगढ नपाले ठेक्का लगाउन पहिलोपटक विद्युतीय बोलपत्र (ईबिडिङ)मार्फत ३० दिने टेन्डर सूचना आह्वान गरेकोमा ठेक्का नलागेपछि दोस्रोपटक १५ दिने टेन्डर सूचना आह्वान गरेको थियो । यही फागुन ७ गते अन्तिम म्याद रहेको सो टेन्डर प्राविधिक समस्याका कारण आज आइतवार खोेल्दा कुनै पनि कम्पनीले सो ढुङ्गा सकारका लागि टेन्डर नभरेको निजगढ नपा राजस्व शाखाले जनाएको छ ।
६७ हजार ७३२.८९ घनमिटर अर्थात् २३ लाख ८९ हजार ६१६.७० क्यूफिट ढुङ्गाको मूल्य अभिवृद्धि करसहित दुई करोड १६ लाख दुई हजार १३६ रुपैयाँमा पहिलोपटक पुुस १८ गते ठेक्काको लागि टेन्डर आह्वान गरेको थियो ।
अवैधरूपमा उत्खनन गरिएका ढुङ्गालाई जफत गरी कानूनी दायरामा ल्याएर बढाबढमा ठेक्का लगाउनुपर्नेमा निजगढ नगरप्रमुख सुरथ पुरी र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले ठेकेदारसँग मिलेमतो गरी नदीजन्य पदार्थ सकार गर्ने ठेकेदार कम्पनी जय गणेश सप्लायर्सको कुुल ठेक्का परिमाणबाट घटाइ मिलान हुनेगरी निकासी गर्न छुट दिएपछि सोको व्यापक विरोध भई सो ढुङ्गा सकार गर्नको लागि टेन्डर आह्वान गर्न बाध्य भएका थिए ।
करोडौं मूल्यको ठूलो परिमाणमा थुपारिएका ढुङ्गालाई कानूनी प्रक्रियाविना वैध बनाउँदै ठेकेदारमार्फत धमाधम निकासी गर्ने कार्य नगरप्रमुख पुरी र प्रप्रअ बर्तौलाले गर्दै आइरहेका थिए । अवैधरूपमा थुपारिएका ढुङ्गामध्ये एक हजार टिपभन्दा बढी अर्थात् १२ हजार घनमिटरभन्दा बढी ढुङ्गा निजगढ नपा र स्थानीय प्रहरी प्रशासनको संरक्षणमा घाटगड्डीमा मिलाउने गरी चोर तस्कर समूहले सो परिमाण बराबर ढुङ्गा चोरेको स्रोतले जनाएको छ । अवैधरूपमा मिलान गरिएका ढुङ्गालाई निजगढ नपाको संरक्षणमा वैधता दिंदै दिनदहाडै बिक्री गर्ने गरिएको थियो ।