गलत क्रियाकलाप र यौनजन्य गतिविधि नगराउन होटल व्यवसायीलाई प्रहरी उपरीक्षकको चेतावनी

प्रस, वीरगंज, ११ फागुन/
पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले पर्सा जिल्लाका होटल व्यवसायीहरूलाई कुनै पनि गलत क्रियाकलाप र यौनजन्य गतिविधि नगराउन चेतावनी दिएका छन् ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ, पर्साले आइतवार आयोजना गरेको ‘मर्यादित होटल व्यवसाय सञ्चालनमा व्यवसायी र प्रहरीको भूमिका’ विषयको अन्तक्र्रियामा प्रउ मिश्रले होटल व्यवसायीहरूलाई मर्यादित तरीकाबाट व्यवसाय सञ्चालन गर्न सुझाए । उनले गलत गतिविधि र यौनजन्य क्रियाकलाप गराउने होटल व्यवसायीहरूलाई सजायको भागी हुन र यसमा प्रहरीबाट कुनै किसिमको अपेक्षा नराख्न चेतावनी दिए । मर्यादित तरीकाबाट सञ्चालन हुने होटल व्यवसायलाई प्रहरीले दुःख नदिने तर त्यसविपरीत गतिविधि भएमा भने नछोडिने बताए । उनले आफू आएपछि चारवटा होटलमा छापा मारी गलत क्रियाकलाप भएको कसूरमा मानव बेचबिखनको मुद्दा चलाएको
बताए ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ, पर्साका अध्यक्ष हरि पन्तले प्रहरीसँगको सहकार्यमा होटल व्यवसायीहरूले काम गर्ने बताए । उनले अहिलेको समयमा प्रहरीले अनावश्यकरूपमा होटलका कोठाकोठा चहार्नै नपर्ने भन्दै गलत क्रियाकलापविरुद्ध आफूहरूको सहयोग रहने बताए । उनले मर्यादित तवरबाट व्यवसाय सञ्चालनका लागि प्रहरीसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा सहभागी होटल व्यवसायीहरूले प्रहरीबाट आफ्नो व्यवसायप्रति अन्याय भएको गुनासो गरेका थिए । उनीहरूले प्रहरी कारबाही सकारात्मक हुनुपर्नेमा नकारात्मक हुँदा असल तरीकाबाट होटल सञ्चालकहरूलाई असर परेको गुनासो गरेका थिए । उनीहरूले प्रहरी कारबाईमा सुधार हुनुपर्ने माग गरे । गलत क्रियाकलाप र यौनजन्य गतिविधि रोक्ने नाममा असल तरीकाबाट होटल व्यवसाय गर्नेहरूलाई असर नपरोस् भन्नेतर्फ पनि प्रहरीले विचार गर्नुपर्ने उनीहरूको सुझाव थियो । प्रहरीले आफ्नो काम निर्बाधरूपमा गर्न पाउनुपर्छ तर प्रचारबाजीको रूपमा होटल व्यवसायलाई नै अमर्यादित ठहर गर्नु उचित नहुने र यसको नराम्रो असर परेको उनीहरूले दुःखेसो पोखे ।

कार्यक्रममा रचेन्द्रसिंह थापाले स्वागत तथा दिलीपराज कार्कीले सहजीकरण गरेका थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्