मातृभाषा भनेको मानिसले जन्मेदेखि सिक्दै आएको भाषा हो, जुन उसले परिवार, समाज तथा समुदायबाट आत्मसात् गर्छ । विश्वव्यापीरूपमा मातृभाषा भाषिक पहिचानको मूल आधार हो र यसलाई संस्कृतिको संवाहकका रूपमा मानिन्छ । संयुक्त राष्ट्रसङ्घ तथा युनेस्कोले मातृभाषालाई भाषिक तथा सांस्कृतिक विविधताको रक्षा गर्ने महŒवपूर्ण माध्यमका रूपमा परिभाषित गरेका छन् । दार्शनिक तथा भाषाविद्हरूले मातृभाषालाई मानिसको मौलिक अधिकारको रूपमा हेर्ने गरेका छन् । विश्वप्रसिद्ध दार्शनिक नोम चोम्स्कीले मातृभाषालाई संज्ञानात्मक विकाससँग जोडेर हेरेका छन् । त्यसैगरी, महात्मा गाँधीले मातृभाषामा नै शिक्षाको प्रवर्धन गर्नु प्रभावकारी हुने बताएका छन् । यस्तै, रवीन्द्रनाथ टैगोरले मातृभाषाविना साहित्य, कला र संस्कृति अधूरो हुने उल्लेख गरेका छन् । मानव सभ्यता र पहिचानको कडी मातृभाषा हो ।
मातृभाषा र राष्ट्रिय भाषा दुवैको महŒव उत्तिकै छ । दुवै उस्तै–उस्तै लागे पनि केही फरक छन् । मातृभाषा मानिसको जन्मजात भाषा हो भने राष्ट्रिय भाषा भनेको राष्ट्रले सबै नागरिकबीच आपसी समझदारी तथा सम्पर्क बढाउन एवं प्रशासनिक कार्यमा प्रयोग गर्ने भाषा हो । नेपालमा नेपाली भाषा राष्ट्रिय भाषाको रूपमा छ भने हाल आधिकारिक मातृभाषा अर्थात् विभिन्न जातीय समुदायका १२३ भन्दा बढी मातृभाषा प्रचलनमा छन् । नेपालको संविधान २०७२ अनुसार नेपाली भाषा राष्ट्रभाषा हो । अन्य भाषाहरूलाई राष्ट्रिय भाषा मान्यता दिइएको छ । नेपालमा रहेका मातृभाषामध्ये केही प्रमुख राष्ट्रिय भाषाहरू मैथिली, भोजपुरी, बज्जिका, थारू, नेवारी, तामाङ, गुरुङ, राई, लिम्बू आदि हुन् । मातृभाषा बोल्नेहरूको सङ्ख्या एवं प्रयोगलाई समेत मध्यनजर गरी प्रमुख मातृभाषा मानिएका छन् । ऐतिहासिकता र बाहुल्यताको हिसाबले केही मातृभाषाहरूलाई सम्बन्धित क्षेत्रका प्रदेशले प्रदेशको सम्पर्क वा कामकाजको भाषाको रूपमा पनि मान्यता दिएका छन् । हाम्रो मुलुकमा जस्तै अन्य मुलुकहरूमा पनि मातृभाषाहरू छन् । उनीहरू आफ्ना मातृभाषाको संरक्षण, खोज, अनुसन्धान तथा उत्थानमा लागिपरेका छन् । यतिबेला विश्वले अन्तर्राष्ट्रिय मातृभाषा दिवस सप्ताहव्यापीरूपमा मनाइरहेको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवस हरेक वर्ष फेब्रुअरी २१ मा मनाइन्छ । यो दिवस बङ्गलादेशका नागरिकको भाषा आन्दोलनको स्मृतिमा युनेस्कोले सन् १९९९ मा घोषणा गरेको थियो । नेपालले पनि सन् २००० देखि यस दिवसलाई औपचारिकरूपमा मनाउन शुरू गरेको हो ।
शिक्षामा मातृभाषाको प्रयोग जरुरी छ । आधारभूत शिक्षामा मातृभाषाको प्रयोगले बालबालिकाको सिकाइ प्रभावकारी बनाउँछ । सञ्चारमाध्यममा मातृभाषा प्रवद्र्धन गर्दा सर्वसाधारणले सहज तरीकाले बुझ्न सक्नेछन् । रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालहरूमा मातृभाषाको अधिक प्रयोगलाई जोड दिइनुपर्छ । यसको लागि नीतिगत संरक्षण जरुरी छ । सरकारले मातृभाषाका शिक्षाक्रम, अनुसन्धान तथा विकास कार्यक्रम लागू गर्नुपर्छ । साहित्य र कला प्रवद्र्धन गर्दै मातृभाषामा साहित्य, नाटक, सङ्गीत तथा चलचित्रको प्रवद्र्धन गर्न आवश्यक छ । त्यसैगरी, सार्वजनिक सेवामा मातृभाषाको प्रयोग गर्दा सेवाग्राही र सेवाप्रदायकलाई समेत सहज हुन्छ । सरकारी सेवा तथा प्रशासनिक कार्यमा विविध भाषाहरूलाई समावेश गर्नुपर्छ । नेपाल बहुभाषी, बहुसांस्कृतिक राष्ट्र भएकोले मातृभाषा संरक्षण र प्रवद्र्धन अनिवार्य छ । मातृभाषाको उत्थान गर्न सके सांस्कृतिक पहिचान जोगाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन सकिन्छ ।