चिरञ्जीवी सापकोटा, ठोरी, १० फागुन/
ठोरी गाउँपालिकाको उत्कृष्ट सहकारी सिर्जना मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको १५औं साधारणसभा सम्पन्न भएको छ । गापा उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले शनिवार साधारणसभाको उद्घाटन गरेकी थिइन् ।
उनले समाजमा छरिएर रहेका पूँजीलाई एकीकृत गरी सहकारीको मर्म अनुरूप फजुल खर्चलाई निरुत्साहित गर्ने उद्देश्यले पिछडिएका वर्गहरूलाई व्यावसायिक आयआर्जनको माध्यमबाट माथि उकास्न सहकारी सिर्जना मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको बताइन् ।
संस्थाका अध्यक्ष घनश्याम अधिकारीको निधनपछि आज आयोजित साधारणसभाले उनको निधनप्रति शोक व्यक्त गरेको थियो । यसैगरी, आजको साधारणसभाबाट रामकृष्ण पन्तलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको छ ।
२०६४ सालमा ३२ जना शेयर सदस्यबाट सुरुआत गरिएको यस सहकारीमा अहिले ४४० जना महिला र ३८२ जना पुरुष गरी ८३४ जना शेयर सदस्य रहेको सहकारीका व्यवस्थापक जगेन्द्र पौडेलले जानकारी दिए ।
आजको साधारणसभामा उत्कृष्ट शेयर लगानीकर्ता संस्थाहरूमा निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समिति र सरस्वती मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह तथा शेयर सदस्यहरूमध्ये सबैभन्दा धेरै बचतकर्ताद्वय मानबहादुर थिङ र धर्मबहादुर विष्टलाई सम्मान गरिएको थियो ।
३२ जना शेयर सदस्यको ३२ सय रुपैयाँबाट प्रारम्भ गरिएको यो सहकारीले अहिले पाँच करोडको हाराहारीमा आर्थिक कारोबार गरिरहेको व्यवस्थापक पौडेलले जानकारी दिए ।
साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन सचिव लवकुमार आचार्यले प्रस्तुत गरेका थिए भने लेखा प्रतिवेदन लेखा समिति संयोजक धर्मेन्द्रकुमार कलवार र लेखापरीक्षण प्रतिवेदन कोषाध्यक्ष रामबहादुर विष्टले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य कमल विक्रम तिमल्सिनाले र सहजीकरण व्यवस्थापक पौडेलले गरेका थिए ।