महाकुम्भ : यात्रा र अनुभूति–२

• सञ्जय साह मित्र

सोचेजस्तो त हुँदैहुँदैन । जहाँ पुग्यो त्यहीं जाम । कुनै बजार देख्नुहुँदैन, गाडीको लाम र जाम फेला परिहाल्छ । तैपनि अगाडि बढिरहेका छौं । साँझ नभए पनि राति पुग्न सकिन्छ भन्ने लागेकै थियो । साढे चार बजेतिर एक ठाउँमा बिस्कुट र पानी बाँडिरहेको देख्छौं । साना बालबालिकाहरूले यात्रीहरूलाई निश्शुल्क पानी, बिस्कुट आदि बाँडिरहेको देख्दा फोटो खिच्छु । गाडीलाई अलिकति साइड गरेर हामी त्यहाँ खिचडीजस्तो केही पदार्थ खान्छौं । सङ्क्ष्Fिप्त संवाद गरी अगाडि बढ्छौं । केहीबेरपछि जाम छिचोल्दै अगाडि बढिरहेका छौं । म र किशुन सर सडकको एकातिरबाट खाली गराउँदै सैकडौं गाडीलाई साइड दिइरहेका छौं । अरू पनि धेरैजना सहयोगी जुट्छन् । केहीबेरमा फोन आउँछ– गाडी बिग्रियो ।

करीब डेढ किलोमिटर पछि फर्कन्छौं । गाडी बनाउने ठाउँसम्म पुग्न समस्या छ । गाडी टुचेन गरेर एक ठाउँमा पु¥याइन्छ । मिस्त्री गाडीको सामान लिन भनी करीब २५ किलोमिटर टाढाको बजार हिंड्यो मोटरसाइकल लिएर । अब पूर्णतः अनिश्चित बन्छौं । राति करीब १० बजेतिर मिस्त्रीको फोन आयो, सामान पाइयो भनेर ।

गाडीमैं सुतेको छ हाम्रो महिलामण्डली । एकजना अगाडिको सिटमा, दुईजना बीचमा र एकजना पछाडि । बाहिर कोलाहल छ, गाडीको जाम छ, लाइन घस्रिरहेको छ । यो अमेठी हो । सम्झन्छौं राहुल गाँधी र अन्य केही नेताहरूलाई । अब रात बिताउन निकै समस्या भइरहेको छ । गाडी बनाउने मिस्त्रीहरू अर्को गाडीको मरम्मत गरिरहेका छन् । त्यहाँ छेउको चियापसल पनि चलेकै छ । जाडो बढ्दो छ र नजीकै बलेको धुनीनेर बसेर केही बटुवा, स्थानीय तथा गाडी मिस्त्रीहरू पनि गफ गरिरहेका छन् । छेउमा एउटा कुर्सीमा किशुन सर धूवाँ खाँदै निदाइरहेका छन् । म निकै अलमलमा छु । सडकपारिको एउटा ठूलो बरन्डामा पुग्छु । दर्जनौं मानिस जथाभावी पल्टेका छन्, निदाउने प्रयत्नमा छन् । अलिकति ठाउँ खाली छ, म किशुन सरलाई बोलाउन फर्कन्छु । तबसम्म अव्यवस्था फैलिइसक्छ । अनि फर्केर गाडी रोकिएको ठाउँमैं आउँछौं ।

त्यहीं एउटा फलामको छडले बारेको बन्द घर, बत्ती बलिरहेको तथा खाली खाट देख्छौं । रात यहीं बिताउन पाए हुन्थ्यो भन्ने कल्पना र विचार गर्छाैं । माथि छतमा एकजना मान्छे देखेर मनको कुरा खोल्छौं । उनी आएर ढोका खोल्छन् र भन्छन्– यो घर तपाईंहरूकै हो, यहाँ बस्न सक्नुहुन्छ वा भित्र ओछ््यानहरू छन्, एउटा कोठामा हिटर बलिरहेको छ, सबै व्यवस्था छ, उपभोग गर्नुहोस् । यस्ता दयालु मानिसको सेवा पाएर हामी धन्य हुन्छौं । गाडीबाट सबैजनालाई भित्र बोलाउँछौं । तीनवटा ओछ्यानमा हाम्रो व्यवस्थापन हुन्छ । आनन्दले रात बित्छ । सवा तीन बजे गाडी मरम्मत भएपछि चालकले खबर दिन आउँछन् । साढे चार बजेसम्म फ्रेश भएर ती मानिसलाई हृदयदेखि धन्यवाद दिंदै निस्कन्छौं । अमेठी जिल्लाको संसारीपुरमा कुनै दिन कोही पुग्नुभयो भने महात्मा शिवलालजीलाई अवश्य भेट्नुहोला । उनी निकै ज्ञानी, हृदयका धनी र मानवसेवामा रमाउने मानिस हुन्स केही नलिएर धन, सम्पत्ति र शरीर सबैले सकेको सेवा गर्न खोज्ने दिव्य पुरुष !

अहिले सडक खाली छ । प्रतापगढ पुगेर अमलाको लड्डू र केही अचार किन्छौं । यहाँ कैयौं किलोमिटरसम्म अमलाका विभिन्न परिकार पाइने पसलहरू छन् । अझ अगाडि बढ्छौं । धरतीमा उज्यालो नछरिंदै हामी प्रयागराज पुग्न चाहेका हौं र कुहिरोले झन् साथ दिइरहेको छ । प्रयागराजस्थित पहिलो बसपार्कमा पुग्दा निकै कुहिरो छ । झिसमिसे उज्यालो भइसक्छ । गाडीबाट ओर्लेर हेर्दा पार्किङस्थल देखिन्छ । हजारौं–हजार बिघा जमीनमा पार्किङ बनाइएको छस कैयौं लाख गाडी अटाउने । एउटा अटोमा चढ्छौं । थोरै अगाडि के पुगेका हुन्छौं, प्रहरीले रोक्छ । भाडाको विषयमा कुरो गर्छ । अटोचालकले प्रतिव्यक्ति ५० रुपियाँ भनेपछि प्रहरीले रिसाएर यात्रुलाई नठग्न र प्रतिव्यक्ति ४० लिन अ¥हाउँछ । हामी अचम्भित हुन्छौं । अटोमा पनि प्रहरीले निगरानी गर्नु निकै ठूलो कुरो हो ।

निर्धारित स्थलसम्म अटो पुग्छ । हामी ओर्लन्छौं र घाटतिर लाग्छौं । कुहिरोमा मुख लुकाउँदै गरेको सूर्य हामी बगरमा पुगेपछि निरन्तर तेज बढाउँदै लग्छ । अनेक बाटा छन्, मानिसको नदी नै बगिरहेको जस्तो लाग्छ । जताततै मानिस नै मानिसको बहावमा मिसिएर खोलातिर बग्दै जाँदा कुन घाटमा पुग्ने भन्ने भइरहन्छ । हामीलाई सङ्गम नै पुग्नु छ । सङ्गमघाट आइपुग्छ ।

अनि डुङ्गाको भाडा सोध्छौं । एउटा डुङ्गामा एक खेपमा दुईजना चढ्न पाउने र प्रतिव्यक्ति दुई हजार रुपियाँ लाग्ने बताउँछ । म पहिले त्यहाँ नुहाइसकेको छु र अहिले जहाँ सबै नुहाइरहेका छन्, त्यहीं नुहाउन तयार हुन्छौं ।

अत्यन्त सौहार्द्रपूर्ण स्नान हुन्छ । हामीले सोचेभन्दा सहजरूपमा सङ्गममा नुहाएर हामी त्यहाँको अन्य वातावरणतर्फ ध्यान दिन थाल्छौं । बिजुलीको हरेक पोलमा एउटा नम्बर लेखिएको बोर्ड झुन्ड्याइएको छ । आकाशमा हेलिकप्टरले निरन्तर निगरानी गरिरहेको लाग्छ । धरतीमा प्रहरीको सङ्ख्या निकै छ । कोही अलिकति दौड्दा पनि प्रहरी किन दौडेको भनी सोध्न आइपुग्ने । सङ्गम तटमा पनि प्रहरी
नै प्रहरी । प्रहरीहरू निगरानीका साथै सेवामा पनि उत्तिकै तत्पर । कहीं कतै धेरैबेर उभिन नदिने । नुहाउन, पूजा गर्न र आप्mनो संस्कृति मान्न चाहिं प्रहरीले कसैलाई कुनै हस्तक्षेप गरेको देखिएन ।

जहाँ हरेक दिन एक करोड मानिस पुग्ने गरेको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ, उक्त ठाउँमा सपरिवार पुग्नु र करोडौंको आस्थामा एकाकार हुन पाउनु निकै ठूलो कुरो हो । महाकुम्भमा पुग्न चाहने मानिसहरूका उद्देश्य पृथक हुन सक्छ । भित्री हृदयमा र बाह्य प्रदर्शनमा
पनि पृथकता हुनु स्वाभाविक हो तर मलाई के अनुभूति भएको छ भने यहाँको व्यवस्था र व्यवस्थापन अद्वितीय, अद्भुत र अकल्पनीय छ । जहाँ करोडौं मानिसहरूको आवागमन छ, त्यहाँ फोहोरको नामोनिशान छैन, दुर्गन्ध भेटिएन । मेशीनले पानी सफा गरिरहेको, पूजा गरेर
पानीमा फालिएका वस्तु सङ्कलन भइरहेको तथा वरपरको जमीन पनि सफा गरिरहेको देख्न पाउनु अद्भुत अनुभूति हो ।

अब यात्राको मुख्य गन्तव्यबाट फर्कने समय भइसकेको छ । अब बाटोमा केही काम लाग्ने सामानहरू किन्दै बिस्तारै फर्कन शुरू गर्छौं । सामान हामीकहाँ भन्दा निकै सस्ता छन् । सबैले हातमा गङ्गाजल बोकेका छौं । थोरै सामान किन्दा पनि भारी भइरहेको छ । बिस्तारै भोकको अनुभूति हुन्छ । यात्रामा जब गन्तव्य वा लक्ष्यको प्राप्ति हुन्छ, तब पहिलेका सबै पीडा र सङ्घर्ष सफलताको सिंढी बनेको अनुभूति हुन्छ र मनमा रमाइलो भाव उदय हुन्छ । आँखामा अटाएसम्मको दृश्यमा केवल मानिस नै मानिस देखिने सर्वथा नौलो अनुभूति पनि बोक्छौं ।

कसैले कुनै जमानामा महाकुम्भमा करोडौं मानिस पुगेको कुरा गर्छ भने त्यसको अंश एकजना म पनि छु भन्ने गर्वको उत्कर्ष बोकेर सबैजना गाडीतिर हिंड्छौं । अब गाडी चढेर सोझै घरतिर हानिनु छ । बाटोमा जे जस्तो पर्ला, देखा जालास किनकि नयाँ बाटो हुँदै, नयाँ ठाउँ
हेर्दै रमाउँदै घर पुग्नु नै अबको मुख्य ध्येय हो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्